पुष्पराज स्मृति टेबलटेनिसलाई वडा ११ को साथ
कपन अनलाइन
काठमाण्डौ ,माघ २१।
खोल्चा पुखु खेलकुद समितिको आयोजनामा हुने प्रथम पुष्पराज शाक्य स्मृति टेबलटेनिस प्रतियोगितालाई ललिपतुर महानगरपालिका वडा ११ ले मुख्य प्रायोजन गर्ने भएको छ ।
आयोजक समितिका अध्यक्ष नदिमरत्न शाक्य र वडा ११ का अध्यक्ष अरोजकुमार खड्गीले सोमबार सो सम्बन्धी सम्झौता पत्रमा हक्षताक्षर गरे ।
प्रतियोगिता सञ्चालन गर्न करिब ८ लाख रुपैयाँ खर्च हुने बताइएको छ । अध्यक्ष खड्गीले प्रतियोगिताका लागि ५ लाख बजेट विनियोजन गरिसकेको र नपुग रकमको हकमा पनि वडाले सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाए ।
प्रतियोगितामा विभिन्न ६ स्पर्धामा १ सय ५० भन्दा बढी खेलाडीले प्रतिस्पर्धा गर्ने छन् । पुरुष÷महिला सिंगल्स, भेट्रान ४० वर्षमाथि, ५० वर्षमाथि र ६० वर्षमाथि पुरुष सिंगल्समा खेल हुनेछ । ललितपुर महानगरपालिका वडा ११ का खेलाडी मात्र खेल्न पाउने गरी यु–१६ मिक्स युथ स्पर्धा पनि राखिएको छ । पुरुष÷महिला सिंगल्समा शीर्ष ३२ वरीयताका खेलाडीले नाम दर्ता गराइसकेको अध्यक्ष शाक्यले बताए ।
प्रतियोगिताको कुल पुरस्कार राशी २ लाख रुपैयाँ रहेको छ । पुरुष÷महिला सिंगल्समा शीर्ष तीन स्थान हात पार्नेले क्रमशः ३० हजार, १५ हजार र ७ हजार ५ सय नगद पुरस्कार हात पार्ने छन् । बाँकी ४ स्पर्धामा पहिलो हुनेले १० हजार, दोश्रोले ५ हजार र तेश्रोले २ हजार ५ सय नगद पुरस्कार पाउने छन् ।
ललितपुर जिल्ला टेबलटेनिस संघको प्राविधिक सहयोगमा हुने रात्रीकालीन प्रतियोगितालाई इलाभेन स्टार क्लब र इखाछें स्पोर्ट्सले सहयोग गर्ने भएका छन् । स्पिन इभेन्ट प्रा.लि. को व्यवस्थापन हुने तीनदिने प्रतियोगिताका खेलहरु शंखमूलस्थित इलेभन स्टार क्लबमा हुनेछ ।
इन्जिनियर पुष्पराज शाक्यको गत वर्ष निधन भएको थियो । ललितपुरमै भएको पाँचौं मेयर कप टेबलटेनिसको भेट्रान स्पर्धामा खेल्ने क्रममै हृदयघाटका कारण शाक्यको निधन भएको थियो ।