राष्ट्रिय फ्रि—स्टाइल रोल्लर स्केटको पहिलो दिन छनोट चरण सम्पन्न
नेपाल स्केटिङ तथा स्केटबोर्डिङ संघले बार्षिक रुपमा आयोजना गर्दै आइरहेको राष्ट्रिय फ्रि—स्टाइल रोल्लर स्केट प्रतियोगिता अन्तर्गतको तेस्रो राष्ट्रिय फ्रि—स्टाइल रोल्लर स्केट प्रतियोगिता—२०८१ अन्तर्गत पहिलो दिन शनिबार छनोट चरणका खेलहरु सम्पन्न भएका छन् ।
काठमाण्डौको गल्फुटार स्केटपार्कमा भएको राष्ट्रिय फ्रि—स्टाइल रोल्लर स्केट प्रतियोगिता—२०८१ पहिलो दिन २५० जना पुरुष र १५० जना महिला खेलाडीहरुको छनोट चरणका खेलहरु आज दिनभरी चल्यो । २ दिन सम्म चल्ने सो प्रतियोगिताको उद्घाटन राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंक लाल घिसिङ्गले भोलि गर्ने कार्यक्रम रहेको छ ।
पुरुष र महिला तर्फ खुल्ला फ्रि—स्टाइल रोल्लर स्केट प्रतियोगिता अन्तर्गत प्रथम हुनेले रु. १५,०००÷— द्वितिय हुनेलाई रु.१०,०००÷— र तृतिय हुनेलाई ५,०००÷— नगद सहित मेडल तथा प्रमाण—पत्र प्राप्त गर्नेछन् । साथै प्रतियोगिताका बिजेतालाइ दक्षिण कोरीयामा आगामी जुन महिनामा आयोजना हुने एसियन रोल्लर डारबी प्रतियोगितामा सहभागी गराइने छ ।
बुढानिलकण्ठ नगरपालिका, गल्फुटारमा रहेको गल्फुटार स्केटपार्कमा राष्ट्रिय फ्रि—स्टाइल रोल्लर स्केट प्रतियोगिता—२०८१ सम्पन्न हुनेछ । रोल्लर स्केट खेल अन्र्तगत फ्रि स्टाईल विधामा जिकज्याक विधा खेलाईने आयोजक संघले जनाएको छ ।