बुढानिलकण्ठ सहित विभिन्न स्थानबाट मोटरसाइकल चोरी गर्ने गिरोह पक्राउ

बुढानिलकण्ठ सहित विभिन्न स्थानबाट मोटरसाइकल चोरी गर्ने गिरोह पक्राउ

कपन अनलाइन
काठमाडौं, कात्तिक २७।

काठमाडौंका विभिन्न स्थानबाट मोटरसाइकल चोरीमा संलग्न ५ जनालाई आइतबार ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ । नुवाकोटको पञ्चकन्या गाउँपालिका ४ घर भइ हाल काठमाडौंको मनमैजु बस्ने ४८ वर्षीय रामशरण अधिकारी, पञ्चकन्या गाउँपालिका ३ घर भइ हाल काठमाडौंको टोखा बस्दै आएका ५२ वर्षीय उत्तम पण्डित, नुवाकोटकै शिवपुरी गाउँपालिका ३ घर भइ काठमाडौंको गंगबु बस्दै आएका ३६ वर्षीय पल छिरिङ शेर्पा, काभ्रेपलाञ्चोकको महाभारत गाउँपालिका ३ घर भइ हाल काठमाडौंको बसुन्धरा बस्ने २६ वर्षीय रमेश तामाङ र मकवानपुरको बकैया गाउँपालिका १ घर भइ काठमाडौंको मुलपानी बस्दै आएका २१ वर्षीय संजय मोक्तानलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको हो । नियन्त्रणमा आएका पाँचैजनालाई थप अनुसन्धान तथा कारबाहीका लागि प्रहरी वृत्त महाराजगंज पठाइएको छ ।

बागमती प्रदेश ०२-०४७ प ४६ ६० नम्बर रहेको उक्त मोटरसाइकल काठमाडौंको बानियाटारबाट हराएको भनि सुमन खड्काले निवेदन दिएका थिए । सोही निवेदनका आधारमा खोजी गर्ने क्रममा वास्तविक नम्बर परिवर्तन गरी बागमती प्रदेश ०२-०४६ प ३३ ७१ नम्बरको मोटरसाइकल काठमाडौंको टोखामा रामशरणले चलाउँदै गरेको अवस्थामा ट्राफिक प्रहरीले फेला पारेको थियो । रामशरणलाई नियन्त्रणमा लिएर अनुसन्धान गर्ने क्रममा उक्त मोटरसाइकल उत्तमबाट लिएको र उत्तमलेपनि सोही मोटरसाइकल पल छिरिङसँगलिएको खुल्न आए पश्‍चात् दुवैजनालाई काठमाडौंको ठमेलबाट हिजैट्राफिक प्रहरीले नियन्त्रणमा लिएको थियो ।

अनुसन्धानकै क्रममा पल छिरिङलेसमेत उक्त मोटरसाइकल रमेशबाट लिएको भन्ने खुल्न आएपछि खोजी गर्दै जाँदा काठमाडौंको पानीपोखरीमा बागमती प्रदेश ०२-०४८ प ०९ ३३ नम्बरको मोटरसाइकलमा सवार रहेको अवस्थामा रमेश र संजयलाई हिजो नै ट्राफिक प्रहरीले फेला पारेको थियो । नियन्त्रणमा आएका उनिहरुका साथबाट लक तोड्न प्रयोग हुने औजार समेत ट्राफिक प्रहरीले बरामद गरेको छ । रमेश र संजय सवार उक्त मोटरसाइकलको वास्तविक नम्बर लुम्बिनी प्रदेश ०१-००२ प ७० ५४ रहेको खुल्न आएको थियो । सोही मोटरसाइकल काठमाडौंको बुढानिलकण्ठबाट हराएको भनि नवराज बरालले काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयमा निवेदन दिएका थिए ।

यस कार्यमा संलग्न अन्य व्यक्तिको खोजि तथा थप अनुसन्धान कार्य जारी रहेको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरिक्षक उमा प्रसाद चतुर्वेदीले जानकारी दिएका छन  ।

आफ्नो सवारी साधन सुरक्षित स्थानमा पार्किङ गर्ने, ह्विल लक, चेन लक, ह्यान्डिल लक, डिस्क लक, लगायत  सुरक्षा साइरनहरू जडान गर्नुका साथै मानिसहरूको आवत जावत नहुने एकान्त स्थानमा पार्किङ नगर्न प्रवक्ता चतुर्वेदीलेसम्पूर्णमा अनुरोध गर्नु भएको छ । हराएका सवारी साधन खोजतलास र चोरी नियन्त्रण कार्य निरन्तर हुँदै आएता पनि सवारी धनी स्वयम सजग भइ सुरक्षित स्थानमा पार्किङ गर्न हुन समेत अनुरोध गरिन्छ ।

सवारी साधन हराएमा ट्राफिक प्रहरीको हटलाईन नम्बर १०३, नेपालप्रहरीको हटलाईन नम्बर १०० मा तत्कालै आफ्नो सवारी साधनको विवरण सहित फोन गर्न र नजिकैको प्रहरी कार्यालयमा निवेदन दिन सकिनेछ ।

तपाइँको प्रतिक्रिया ।