नेपालको ‘रसुवा नेचुरल स्प्रिङ वाटर’लाई यस बर्षको जापानको ‘गोल्ड क्वालिटी अवार्ड’
कपन अनलाइन
काठमाडौं, कात्तिक१०/गोकर्ण अधिकारी
नेपालको रसुवा जिल्लामा प्रशोधन भएर करिव १ दर्जन देशमा निर्यात हुँदै आएको ‘रसुवा नेचुरल स्प्रिङ वाटर’ले जापानमा यस बर्षको पिउने पानीको उच्च गुणस्तर ‘गोल्ड क्वालिटी अवार्ड’ पाएको छ ।
‘गोल्ड क्वालिटी अवार्ड’ जापानमा पिउने पानिले पाउने सर्वाधिक गुणस्तर प्रमाण हो । जापानमा एक बर्षअघि व्यावसायिक विक्रिको अनुमति पाएको नेपालको पहिलो ‘मिनरल वाटर’ ‘रसुवा नेचुरल स्प्रिङ वाटर’लाई टोकियोमा शुक्रबार एक कार्यक्रमका बिच जापान अक्वा सोमेलियर असोसिएसनले ‘गोल्ड क्वालिटी अवार्ड’ हस्तान्तरण गरेको छ ।
अवार्ड नेपाली राजदूतावास जापानका महामहिम राजदूत डा. दुर्गा बहादुर सुवेदीको उपस्थितिमा अक्वा सोमेलियर असोसिएसनका प्रमुख यामानाकी आकीले ‘रसुवा नेचुरल स्प्रिङ वाटर’ जापान विक्रि वितरण गर्दै आएको हार्मोनी कम्पनी लिमिटेड जापानका अध्यक्ष योकोयामा दाईगोलाई हस्तान्तरण गर्नुभएको थियो ।
जापान अक्वा सोमेलियर असोसिएसनले जापानमा विक्रि वितरण हुने पिउने पानिको कम्पनीहरु मध्येबाट एकलाई हरेक बर्ष गुणस्तरको आधारमा ‘गोल्ड क्वालिटी अवार्ड’ प्रदान गर्दै आएको छ । जापानमा करिव ४ सय कम्पनीका विभिन्न ब्राण्डका मिनरल वाटर विक्रिमा रहेको कम्पनीका अधिकारीले अवार्ड हस्तान्तरणका अवसरमा जानकारी दिएका छन् ।
पानीको मुल, प्रशोधन, प्याकेजिङ्, प्याकिङ् बोतल, वितरण प्रणाली सहित खपतको अवस्थासम्मलाई मुल्यांकन गरेर जापान अक्वा सोमेलिएर असोसिएसनले दिने पानिको गुणस्तर मापनको यो अवार्ड तीन बर्षसम्म कायम रहने रसुवा पानीको जापान वितरण गर्दै आएको हार्मोनी कम्पनी लिमिटेड जापानका निर्देशक केशवराज घिमिरेले जानकारी दिनुभयो ।
जापान अक्वा सोमेलियर असोसिएसन जापानमा विक्रि गर्ने अनुमति पाएको बिदेशबाट आयातित पिउने पानिको अनुगमन गर्ने सरकारले तोकेको आधिकारिक निकाय हो । जापान अक्वा सोमेलियर असोसिएसनका प्रमुख यामानाका आकीले ‘गोल्ड क्वालिटि अवार्ड’ हस्तान्तरण गर्दै जापानी खपतकर्ताहरुमा रसुवा पानी लोकप्रिय बन्दै गएको आफुले पाएको बताउँदै कम्पनीलाई गुणस्तर कायम राख्दै व्यापार विस्तारको शुभकामना व्यक्त गर्नुभयो ।
अवार्ड वितरणका क्रममा आयोजकले जापानी ह्विस्की, कफी तथा जापानी कोच्या चियामा रसुवा पानी प्रयोग गर्दा स्वादको गुणस्तर उच्च पाइएको विभिन्न ‘एक्सपर्ट’हरुको अनुभव सुनाएको थियो ।
अवार्ड वितरण कार्यक्रममा राजदूत डा. दूर्गा बहादुर सुवेदी सहित एनआरएनए आईसिसीका उपाध्यक्ष रोविन शेरचन, एनआरएनए जापानका अध्यक्ष नविन निउरे, नेपाली व्यवसायी संघ जापानका अध्यक्ष विजेश थकाली, अग्रज व्यवसायी बिनोद शेरचन लगायत विभिन्न संघसंस्थाका व्यक्तिहरुको सहभागीता रहेको थियो ।
कार्यक्रममा बोल्दै राजदूत डा. सुवेदीले नेपालको हिमाली भेगको उच्च गुणस्तरको पिउने पानीको जापानमा विक्रि हुनु त्यसमा पनि यहाँको उच्च गुणस्तरको अवार्ड प्राप्त गर्नु नेपाली व्यवसायीहरुका लागि सुनौलो मौका भएको बताउँदै नेपालमा उत्पादन र पाइने अमुल्य खनिज पदार्थहरुको जापानमा बजारीकरणको उच्च सम्भावना रहेको बताउँदै यसमा लाग्न नेपाली व्यवसायीहरुमा अनुरोध गर्दै आवश्यक समन्वय र सहयोग गर्न नेपाली राजदूतावास सदैव तयार रहेको बताउनुभयो ।
जापानमा हाल ४ हजार मिटर भन्दा माथि मुल भएको पिउने पानि व्यावसायिक रुपमा विक्रिमा नपाइएको तर रसुवा पानी रसुवाको धुन्चेमा ४ हजार मिटर भन्दा माथिको हिमाली भेगको मुलबाट आएको स्वस्छ पिउने पानी भएकाले पानीको श्रोत, मिनरलको मात्रा, पानीको नरमपना आदिका कारण एकपटक प्रयोग गरेका जापानी खपतकर्ताहरुले रसुवा नेचुरल स्प्रिङ वाटरलाई निरन्तर अर्डर गरेर पिउने गरेको हार्मोनीका निर्देशक घिमिरे बताउनुहुन्छ ।
हालसम्म जापानीहरुलाई लक्षित गरेर विभिन्न कम्पनीका सुपरमार्केटहरु सहित ‘अमाजोन’ र ‘राकुटेन’ अनलाईन प्लेटफर्म मार्फत विक्रिवितरण हुँदै आएको ‘रसुवा नेचुरल स्प्रिङ वाटर’ अब भने जापानका नेपालीहरुलाई पनि लक्षित गरेर विक्रिको तयारी थालिएको घिमिरेको भनाई छ ।
‘रसुवा नेचुरल स्प्रिङ वाटर’ नेपालको रसुवा जिल्लामा ‘रुद्रगंगा नेचुरल वाटर प्रा.लि.’ले उत्पादन गर्दै आएको छ ।