चौथो वीर गणेशमान सिंह राष्ट्रिय टेनिस : कमल थापालाई दुई उपाधि

चौथो वीर गणेशमान सिंह राष्ट्रिय टेनिस : कमल थापालाई दुई उपाधि

कपन अनलाइन
काठमाडौं, कात्तिक ९।

कमल थापाले चौथो वीर गणेशमान सिंह राष्ट्रिय टेनिस प्रतियोगितामा बिहीबार दुई उपाधि जितेका छन् ।
सातदोबाटोस्थित नेपाल टेनिस संघको कोर्टमा भएको प्रतियोगिता कमलले पुरुष ५५ वर्षमाथि र ६५ वर्षमाथि उमेरसमूहको सिंगल्समा गरी दुई उपाधि जितेका हुन् । कमलले ५५ वर्षमाथि उमेरसमूहको फाइनलमा मनोजविक्रम शाहलाई समान ७–६, ७–६ ले हराए । उनले ६५ वर्षमाथि सिंगल्समा पनि ध्रुव गुरुङलाई समान ४–० को स्कोरमा पराजित गरे । महिला सिंगल्सको उपाधिका लागि अभिलाशा बिष्ट र सुनिरा थापाले प्रतिस्पर्धा गर्नेछिन् । सेमिफाइनलमा अभिशालाले प्रज्ना मानन्धरलाई ६–१ र ६–१ ले सहजै हराइन् ।
अर्को सेमिफाइनलमा सुनिराले स्वस्तिका बिष्टमाथि ६–० र ६–१ को जित निकालिन् ।  पुरुष सिंगल्समा राजवीर प्रधान र रितिक राणाले फाइनलमा स्थान बनाए । राजवीरले प्रणव मानन्धरमाथि ६–१ र ६–३ ले हराएका हुन् । अर्को सेमिफाइनलमा रितिकले आयुष्मान हजुर घलेमाथि समान ६–१ को जित निकाल्दै उपाधि यात्रा तय गरेका हुन् । पुरुष डबल्सको उपाधि प्रदीप खड्का र आयुष्मान हजुर घलेको जोडी च्याम्पियन भए । यो जोडीले फाइनलमा प्रणव खनाल र निहाल जंगबहादुर थापाको जोडीलाई ६–४ र ६–३ ले हराएका हुन् ।
पुरुष ४५ वर्षमाथि डबल्समा डिगेन्द्र श्रेष्ठ र चन्द्र शाहीको जोडी च्याम्पियन भयो । यो जोडीले फाइनलमा महेश श्रेष्ठ र मानबहादुर कटुवालको जोडीलाई ६–१, ३–६ र १०–८ ले हराए । यु–१२ उमेरसमूहको गल्र्स सिंगल्समा अनुश्री धोजु र ब्वाइज सिंगल्समा विश्व डल्लाकोटी च्याम्पियन भए । अनुश्रीले फाइनलमा सारा पन्तलाई ६–१, ६–२ र विश्वले आरित मल्ललाई २–६, ६–१, ६–१ ले हराउँदै उपाधि जितेका हुन् । यु–९ गल्र्स सिंगल्समा नैरा घले फाइनलमा रजिशा जोशलाई ४–१ र ४–० ले हराउँदै च्याम्पियन भइन् । यु–१४ गल्र्स सिंगल्समा शिभाली गुरुङ च्याम्पियन भइन् ।
उनले फाइनलमा इरा खत्रीलाई समान ६–० ले हराएकी हुन् । गल्र्सकै यु–१० उमेरसमूहको सिंगल्समा सरा पन्तले फाइनलमा सरा पन्तलाई २–६, ६–० र १०–५ ले हराउँदै उपाधि जिते । ब्वाइज यु–९ उमेरसमूहको सिंगल्समा भिराल अग्रवाल र कायन चालिसे फाइनलमा पुगेका छन् । सेमिफाइनलमा भिरालले सहांश बस्न्यातलाई ४–१ र ५–३ तथा कायनले अबिर केडियालाई ४–०, ४–१ ले हराए ।

तपाइँको प्रतिक्रिया ।