नेपालद्वारा कुबेतसमक्ष २५१ रनको लक्ष्य प्रस्तुत

काठमाडौँ, १५ भदौ । उन्नाइस (यु–१९) वर्षमुनिको एसिसी प्रिमियर लिग क्रिकेटमा नेपालले कुबेतसामु २५१ रनको विजय लक्ष्य दिएको छ ।

मलेसियामा जारी प्रतियोगितामा टस जितेर ब्याटिङ गरेको नेपालले पूरै ओभर खेल्दै ८ विकेटको क्षतिमा २५० रनको सम्मानजनक स्कोर बनाउन सफल भयो । नेपालको सुरुवात राम्रो नभए पनि मध्यक्रममा ब्याट्सम्यान सम्हालिएपछि सम्मानजनक स्कोर बनेको हो ।

नेपालका लागि सौरभ खनाल र दीपेन्द्रसिंह ऐरीले १३० रनको महत्वपूर्ण साझेदारी गरे । दीपेन्द्रले ९ चौका र २ छक्काको मद्दतमा सर्वाधिक ८५ रन बनाउँदा सौरभले ५ चौका र १ छक्काको मद्दतमा ७३ रन जोडे ।

त्यस्तै, प्रेम तामाङले २३, कप्तान राजु रिजाल १५, सुनिल धमलाले ११, शङ्कर रानाले ८, आशिष धामी ४ रन बनाउँदा आरिफ शेख र राजवीर सिंहले भने खातासमेत खोल्न सकेनन् ।

प्रतियोगितामा नेपालको यो चौथो खेल हो । यसअघिका तीन खेलमध्ये नेपालले दुई जित हात पारेको छ भने एक खेलमा हार ब्यहोरेको छ । अहिले कुबेतको ब्याटिङ सुरु भएको छ ।

तपाइँको प्रतिक्रिया ।