पदक विजेता रोलर स्केट खेलाडीलाई राखेपमा स्वागत

पदक विजेता रोलर स्केट खेलाडीलाई राखेपमा स्वागत

कपन अनलाइन
काठमाडौं, असोज ९।
थाइल्याण्डमा सम्पन्न रोलर स्केट इन्डुरेन्स इन्टरनेसनल च्याम्पियनसिप २०२४’ मा नेपालले उत्कृष्ट प्रदर्शन गर्दै दोस्रो स्थानमा आफ्नो स्थान पक्का गरेको छ । नेपाली खेलाडीहरुले विभिन्न इभेन्टहरूमा सहभागी हुँदै कुल २० स्वर्ण, ६ रजत र ४ कांस्य पदक जित्न सफल भएको नेपाल स्केटिङ तथा स्केट बोर्डिङ संघका अध्यक्ष अच्यूत खनालले जनाएका छन् । खेलाडीहरुलाई मंगलबार राखेप सदस्य–सचिव टंकलाल घिसिङ र नेपाल ओलम्पिक कमिटीका महासचिव निलेन्द्रराज श्रेष्ठले स्वागत गर्दै बधाई दिए ।
प्रतियोगितामा नेपालका खेलाडीहरु कुनाल कामत, गोबिन्द गोयाल, इशाना शर्मा र आध्या शर्माले सहभागिता जनाएका थिए । कुनाल कामतले १४ वटा इभेन्टमा भाग लिँदै भारतबाहेक अन्य देशहरू मध्ये सबैभन्दा बढी स्वर्ण पदक जितेका छन् । उनले ११ स्वर्ण र ३ कांस्य पदक जित्दै सबैभन्दा बढी पदक प्राप्त गर्ने खेलाडी बनेका छन् र ‘प्लेयर अफ दी इयर’को ट्रफी पनि हासिल गरेको संघका सचीव दिनेश बजगाईले बताउनु भयो ।
गोबिन्द गोयालले ६ इभेन्टमा भाग लिँदै ३ स्वर्ण र ३ रजत पदक जितेका छन् । इशाना शर्माले ७ इभेन्टमा ३ स्वर्ण, ३ रजत, र १ कांस्य पदक जितेकी छन्। त्यस्तै, आध्या शर्माले ३ इभेन्टमा ३ स्वर्ण पदक जितेर आफ्नो प्रदर्शन उत्कृष्ट बनाएकी छन्।
भारतले ६६ स्वर्ण पदक जित्दै प्रतियोगितामा पहिलो स्थान हासिल गरेको छ । नेपालले कुल पदक संख्यामा उच्च प्रदर्शन गर्दै दोस्रो स्थान पाएको छ भने तेस्रो स्थानमा फिलिपिन्सले कब्जा जमाएको छ । नेपाल स्केटिङ तथा स्केट्बोडिङ संघका अध्यक्ष अच्युत खनालका  अनुसार नेपाली खेलाडीहरुको यो प्रदर्शनले देशको खेलकुद क्षेत्रमा नयाँ उचाइ थपेको बताउदै अन्तर्राष्ट्रिय मञ्चमा नेपालको पहिचानलाई थप सशक्त बनाएको बताए ।
अध्यक्ष खनालले नेपालको यो सफलताले खेलकुद क्षेत्रमा नयाँ जोश थपेको छ भने खेलाडीहरुको आत्मविश्वास र मेहनतलाई पनि प्रोत्साहित गरेको बताए ।

तपाइँको प्रतिक्रिया ।