काठमाडौँमा जुमको रोड शो, ‘कामको भविष्य एवम् सहकार्य’  बारे अन्तरक्रिया

काठमाडौँमा जुमको रोड शो, ‘कामको भविष्य एवम् सहकार्य’  बारे अन्तरक्रिया

कपन अनलाइन

काठमाण्डौ ,असोज ३।

बेलायतमा मुख्यालय रहेको सूचना प्रविधि सम्बन्धी  परामर्शदाता कम्पनी, जेनेस सलुशन तथा जुमले ‘कामको भविष्य एवम् सहकार्य’  का बारेमा एउटा अन्तरक्रिया आयोजन गरेका छन्।

‘कृत्रिम बौद्धिकता’ (एआइ) लगायत सूचना प्रविधिको तीव्र विकासले गर्दा संसारभरि करोडौं मानिसहरुले रोजगारी गुमाउन सक्ने आशंका गरिंदै गर्दा कामको भविष्य तथा नव परिवर्तनमा आधारित डिजिटल सलुसनबारे छलफल गर्न उक्त अन्तरक्रिया आयोजना गरिएको हो।  गत साता काठमाडौँस्थित होटेल म्यारियटमा आयोजित उक्त कार्यक्रममा  सूचना प्रविधि विज्ञहरु, विभिन्न कम्पनीका नेतृत्व तथा सूचना प्रविधिको क्षेत्रमा भै रहेको पछिल्लो प्रगतिको बारेमा जानकारी राख्न इच्छुक जिज्ञासुहरु सहभागी भएका थिए । कार्यक्रममा आधुनिक कार्य स्थल र पछिल्लो प्रविधिबारे जानकारीमूलक प्रस्तुति, अन्तरक्रियात्मक डेमो र छलफल गरिएका थिए ।
कार्यक्रममा जेनेस सलुशनका निर्देशक श्री प्रसाद भण्डारीले सहभागीहरुलाई स्वागत गर्दै जुमले सिक्न, काम गर्न र एक आपसमा सहकार्य गर्न निकै सजिलो बनाइ दिएको बताए।  उनले नेपालमा  जुमको रिसेलरका रुपमा सेवाग्राहीहरुलाई उत्कृष्ट सेवा दिन आफुहरु लागि परेको पनि जनाए।
जुमको मिड मार्केट सेल्सकी निर्देशक  स्वाती अग्रवालले एउटा मिटिंग प्ल्याटफर्मको रुपमा सुरु गरिएको जुममा अहिले संसारभरिका  व्यवसायहरुलाई मदत पुग्ने गरी थुप्रै फिचरहरु थप गरिएको बताइन्।  उनले  ‘सन् २०२४ मा जुम’ विषयक प्रस्तुति दिंदै   ‘कन्ट्याक्ट सेन्टर’ उद्योगलाई नै उथलपुथल गर्न सक्ने ठानिएको ‘मल्टीकास’ जस्ता जुमका नयाँ फिचर एवं नवप्रवर्तनमा आधारित सेवाहरुबारे जानकारी दिइन् ।
‘एक्जिक्युटिभ ब्रिफिंग सेन्टर’ को भर्चुएल डेमो सेशनमा शैलेश रंगारी तथा चन्द्रमुली टीजेले जुमले विकास गरेका ‘वर्कभाइभो’ जस्ता  एप्लीकेशन लगायत  जुममा कृत्रिम बौद्धिकताको संयोजनबारे जानकारी गराएका थिए ।

उक्त  कार्यक्रमको एउटा प्रमुख आकर्षणको रुपमा  ‘भविष्यको काममा कसरी जोडिने र फाइदा लिने’ विषयमा विज्ञ तथा सहभागीहरुबीच छलफल रहेको थियो ।  उक्त सत्रमा स्वाती अग्रवाल, निहा जोशी, अमरदिप लिम्बु, इ रबिन्द्र श्रेष्ठ, अनित जंग पाण्डे, सुबिन अधिकारी, प्रक्रिया लामा लगायतका  प्रस्तोताहरुले कार्यस्थलको पछिल्लो प्रवृत्ति, उत्पादनशीलता बढाउने रणनीतिहरु  र हाइब्रिड वातावरणमा सहकार्य तथा कल्याणमा प्रविधिको भूमिकाबारे प्रस्तुति दिएका थिए ।
कार्यक्रमको समापन समारोहमा लन्डनबाट जुममा जोडिएका जेनेस सलुशनका संस्थापक तथा सिइओ अञ्जनी फुयाँलले आजको समयमा एउटा प्रमुख चुनौती भनेको सूचना र प्रविधि माथिको पहुँच रहेको बताए ।  उनले जुम करिब एक दशक भन्दा पहिले देखि नै बजारमा आएको भएता पनि सन् २०२० मा कोभिड १९ महामारीका बेला धेरैले यसको बारेमा थाहा पाएको र उपयोग गर्न थालेको बताए।  नेपालमा जुमको रिसेलर र साझेदारको रुपमा जुमका पछिल्ला फिचरहरुबाट नेपाली कम्पनी तथा व्यवसायहरुले फाइदा उठाउन सकुन् भन्ने उद्देश्यले आफुहरुले काम गरि रहेको उनले बताए।

कार्यक्रमको अन्त्यमा सहभागीहरुलाई अनौपचारिक वातावरणमा कार्यक्रमका मुख्य मुख्य विषयबारे छलफल गर्ने र एक आपसमा सम्बन्ध बढाउन मदत पुगोस्  भन्ने ध्येयले  नेटवर्किंग डिनरको पनि आयोजना गरिएको थियो ।

तपाइँको प्रतिक्रिया ।