काठमाण्डौ क्षेत्र नं ४ मा कृष्ण राई : चुनौती र कार्यभार

काठमाण्डौ क्षेत्र नं ४ मा कृष्ण राई : चुनौती र कार्यभार

कपन अनलाइन
काठमाडौं, भदौ २५।

कुनै समय नेकपा एमालेको लाल किल्ला मानिने काठमाण्डौ क्षेत्र नं ४ मा २०६४ सालको निर्वाचन देखि लगातार नेपाली कांग्रेसले जित हासिल गर्दै आएको छ।

२०६४ सालको संविधान सभाको निर्वाचनमा नेपाली कांग्रेसकी  सुप्रभा घिमिरेले जित हासिल गरेको यस क्षेत्रमा २०७०.२०७४ र २०७९ को निर्वाचनमा जित हासिल गर्दै नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले ह्याट्रिक गरिसकेका छन।

जननेता मदन भण्डारी र पुर्व रास्ट्रपति विद्यादेवी भण्डारीले जित हासिल गरेर कम्युनिस्ट जनमतको बलियो आधारका रुपमा पहिचान बनाएको यस निर्वाचन क्षेत्रमा नेकपा एमालेले चार वटा निर्वाचनमा निराशा जनक नतिजा बेहोरेको छ।

काठमाण्डौ महानगरपालिकाका ४ र बुढानिलकण्ठ नगरपालिकाका ८ वटा वडा रहेको काठमाण्डौ क्षेत्र नं ४ को राजनीतिक बिजोगलाई बिजयको आधार बनाउन भन्दै यस क्षेत्रमा लामो समय देखि भिजेका र क्षेत्र बुझेका पोलिटब्युरो सदस्य कृष्ण राईलाई पछिल्लो समय इन्चार्जका रुपमा पठाईएको छ।

स्थानीय तहको निर्वाचनमा सधै उत्साहजनक नतिजा हासिल गर्ने तर संघीय निर्वाचनमा भने हार्ने परिणती भोगेको नेकपा एमाले काठमाण्डौ क्षेत्र नं ४ मा २० वर्ष पछि २०८४ मा बाम बिरासत फर्काउने अभियानमा रहेका राई माथि धेरै नेता तथा कार्यकर्ताहरुको आशा र अपेक्षा रहेको देखिन्छ।

आम नेता तथा कार्यकर्ताहरुको अपेक्षाको चाङ्ग रहेको समयमा काठमाण्डौ क्षेत्र नं ४ मा इन्चार्जको जिम्मेवारी लिएर आएका राईका अगाडी केहि महत्वपूर्ण चुनौतीहरु रहेका छन।

१. चार फरक चुनाव : एकै नीति,विधि ,शैली र नेतृत्व

नेकपा एमालेको विगत चार वटा चुनावी रणनीति र परिचालन हेर्दा एकै नीति ,विधि ,शैली र नेतृत्व रहेको देखिन्छ जसले गर्दा नेपाली कांग्रेसले आफ्नो भन्दा बढी नेकपा एमालको नाडी छाम्न सफल भएको देखिन्छ।

परम्परागत निर्वाचन परिचालनको विधि र नीतिलाई अवलम्बन गर्ने र नविन तथा वर्तमान समय सापेक्ष शैली र रणनीतिलाई उपेक्षा गर्दा हरेक निर्वाचनमा मतान्तर बढ्ने प्रवृतिका बारेमा नेकपा एमाले काठमाण्डौ क्षेत्र नं ४ ले गम्भीर समिक्षा गर्नुपर्ने देखिन्छ। यसका लागि वर्तमान इन्चार्ज राईले चार चुनावमा भएको हार र यसको समिक्षालाई पहिलो पाइला बनाएर संगठन पुनर्निर्माणको अभियान शुरु गर्नुपर्ने देखिन्छ।

यस क्षेत्रका प्रभावशाली भनिएका वा मानिएका नेतृत्व पंक्तिको रिल राख्ने क्यामेरा जस्तो  परम्परागत र डेट एक्स्पायर बुझाइलाई परिमार्जन वा बहिर्गममित गर्दै डिजिटल सोच र शैलीमा काम गर्नुपर्ने चुनौतीका विचमा आएका इन्चार्ज राईले निर्वाचनमा प्रस्तिस्पर्धिले अपनाएको रणनीतिलाई ट्याकल गर्नसक्ने नेतृत्व पंक्ति निर्माणमा महत्वपूर्ण भूमिका खेल्नुपर्ने देखिन्छ।

२.विगतको भूमिका हेरेर काखा पाखा गर्ने रोगको गम्भीर शल्यक्रिया र उपचार 

कुनै समय नेकपा एमालेको हाल संस्थापन पक्षको राजधानीका रुपमा चर्चा गरिने काठमाण्डौ क्षेत्र नं ४ मा सोहि समुहले बोकेर ल्याएका  कुसुम कुमार कार्कीले गुट परिवर्तन गर्दै दोश्रो अधिवेसनमा भएको आन्तरिक निर्वाचनमा जित हासिल गरे संगै गम्भीर रुपमा समुहबन्दीको बिजारोपण भएको थियो।

काठमाण्डौ क्षेत्र नं ४ को दोश्रो अधिवेसनमा स्पस्ट रुपमा देखिएको विभाजनका कारण २०७० पछि भएका तिन वटै निर्वाचनमा प्रत्यक्ष /परोक्ष रुपमा अशर पुगेको निस्कर्ष विभिन्न दस्ताबेजमाहरुमा अहिलेपनि अंकित रहेको छ।

सोहि अधिवेसन पश्चात शुरु भएको कित्त्ताबन्दिका कारण नेकपा एमाले काठमाण्डौ क्षेत्र नं ४ को संगठन मात्र हैन आम जनतामा समेत नकारात्मक प्रभाव पारेको विश्लेषकहरुको बुझाई रहेको चर्चा लामो समयदेखी हुदै आएको छ।

अझ पछिल्लो समयमा पार्टीमा कुनै गुट नरहेको भन्ने सतही चर्चा चलिरहेको समयमा काठमाण्डौ क्षेत्र नं ४ मा रहेका दर्जनौ नेता तथा कार्यकर्ताहरुको राजनीतिक जीवनको कत्लेआम भएको तथ्यलाई सायद राजनीतिक सुझबुझ र चेतना भएको ब्यक्तिले अस्विकार गर्न नसक्ला जसको करणले अन्य क्षेत्र भन्दा यस क्षेत्रमा विभाजनको समेत गम्भीर अशर परेको देखिन्छ।

यस्तो अवस्थामा क्षेत्रको इन्चार्जका रुपमा आएका राईले जिम्मेवारी बिहिन र निस्क्रिय पारिएका नेता तथा कार्यकर्ताहरुलाई समेट्ने विशेष योजना ल्याउछन वा क्षेत्रलाई लामो समयदेखी गाँजिरहेको भक्ति तन्त्रमा रमाउछन त्यसले आगामी नतिजामा पक्कै प्रभाव पार्ने देखिन्छ।

३.पहिलो मतदाता र युवा वर्गमा पहुँच र संगठन विस्तार 

विगतका निर्वाचनमा देखिएको परिचालन विधि र शैलीलाई हेर्दा नेकपा एमाले काठमाण्डौ क्षेत्र नं ४ मा पहिलो पटक मतदान गर्ने मतदाताहरु विच सम्बन्ध विस्तार र संगठन निर्माणमा निकै उदासिन रहेको देखिन्छ।

अभिभावक एमाले र सबै एमाले भन्ने रुढीवादी र पौराणिक बुझाई र विस्वासका कारण राम्रो शंख्यामा रहेका पहिलो मतदाता नेकपा एमाले संग आकर्षित बन्न नसकेको तर्फ ध्यान दिनुपर्ने देखिन्छ।

परिवर्तित समय सापेक्ष विचार, प्रविधि र पहुँचका आधारमा प्रौढ भन्दा प्रभावशाली रहेको GEN Z भनिने युवा पुस्ता विच पुग्ने ठोस योजना र कार्यक्रम निर्माण गर्नुपर्ने देखिन्छ भने यसका लागि इन्चार्जका रुपमा आएका पोलिटब्युरो सदस्य राईले प्रभावकारी कदम चाल्नुपर्ने अपेक्षा काठमाण्डौ क्षेत्र नं ४ ले गरेको छ।

४. जनप्रतिनिधि र पार्टी विचको सम्बन्ध मजबुतीकरण   

धेरै स्थानमा पार्टी पंक्ति र निर्वाचित जनप्रतिनिधिहरु विच जोगी देख्दा भैसी डराउने र भैसी देख्दा जोगी डराउने भन्ने उखान जस्तै सम्बन्ध रहेको जगजाहेर नै छ जसको प्रभाव काठमाण्डौ क्षेत्र नं ४ मा पनि देखिन्छ।

विगतका दुई निर्वाचनमा प्रभावशाली रुपमा स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरुको परिचालन हुन् नसक्दा कतिपय वडाहरुमा अपेक्षित मत र परिणाम प्राप्त गर्न नसकेको तथ्यलाई गम्भीरतापुर्वक लिदै योजना निर्माण गर्नुपर्ने देखिन्छ।

अझ २०७९ सालको निर्वाचनमा ३१ वटा बुथमा नै पराजित हुनका पछाडीका कारण खोतल्नुपर्ने देखिन्छ भने पार्टी र जनप्रतिनिधि एक अर्काका परिपुरक हुन् भन्ने भावनाको विकास गर्नका लागि इन्चार्ज राईको भूमिका महत्वपूर्ण हुने सायद दुइ मत नहोला।

यो माथिका प्रमुख चार कारण संगै देख्दा सानो तर महत्वपूर्ण कारणका रुपमा उम्मेदवारहरुको सचिवालय निर्माण र परिचालन पनि रहेको छ। स्वकीय सचिव नै सचिवालय भन्ने कमजोर बुझाइ र यसको प्रभावकारी परिचालन नहुँदा पनि संचारको खाडल रहेको देखिन्छ जसलाई आगामी दिनमा टिम निर्माण सहित योजनावद्ध कम गर्नका लागि इन्चार्जको सहजीकरण आवस्यक देखिन्छ।

त्यस्तै हालको पार्टी विधान र निर्देशनका कारण कर्मकाण्डी जस्तो देखिएको क्षेत्रीय कमिटीलाई प्रभावकारी बनाउनका लागि केन्द्र सुझाव पेस गर्ने तथा स्थानीय स्तरमा रचनात्मक गतिविधिका मार्फतबाट अभिभावकत्वको अनुभूति प्रदान गर्नका लागि इन्चार्ज राईको भूमिका फराकिलो र कुनै पनि राग अनुराग र घेरा बिहिन हुनुपर्ने देखिन्छ । क्रमस :

 

 

 

 

 

तपाइँको प्रतिक्रिया ।