राष्ट्रपति रनिङ सिल्डको अनुगमन गर्ने जिम्मेवारी बोर्ड सदस्यलाई

राष्ट्रपति रनिङ सिल्डको अनुगमन गर्ने जिम्मेवारी बोर्ड सदस्यलाई

कपन अनलाइन

काठमाण्डौ,बैशाख ३।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजनामा हुने १४ औं केन्द्रस्तरीय राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगितामा समावेश विभिन्न ६ खेलको अनुगमन गर्ने जिम्मेवारी राखेप बोर्ड सदस्यलाई प्रदान गरिएको छ ।
भलिबलमा नन्दा बस्याल, एथलेटिक्समा विना श्रेष्ठ, कबड्डीमा पेमा डोल्मा लामा, करातेमा अन्जना श्रेष्ठ, तेक्वान्दोमा अन्जन धमला र उसुमा प्रकाशकुमार कुसारीलाई कार्य विवरणसहित अनुगमन गर्ने जिम्मेवारी दिइएको छ ।
राष्ट्रपति रनिङ सिल्ड मंगलबार सुरु हुँदै । प्रतियोगिताको राष्ट्रपति रामचन्द्र पौडेलले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । उद्घाटन कार्यक्रममा मार्च पास्ट, अक्सिडेन्टल पब्लिक स्कुलका विद्यार्थीको नृत्य, उसु खेलाडीको प्रस्तुती, डान्स स्पोर्ट्स संघको प्रस्तुती, नाइटिङ स्कुलका विद्यार्थीहरुको सातै प्रदेशको संस्कृति झल्कने नृत्य प्रस्तुती रहने छ । त्यस्तै तृष्णा गुरुङ एन्ड डि कोल्याबको टोलीले गीत प्रस्तुत गर्ने छन् ।
युवा तथा खेलकुद मन्त्रालयको तत्वावधानमा हुने प्रतियोगितामा सातै प्रदेशबाट ६ सय ८६ खेलाडीको सहभागिता रहने छ । एथलेटिक्स त्रिपुरेश्वरस्थित दशरथ रंगशाला, भलिबल राखेपको कभर्डहल, कबड्डी लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्र, कराते सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसर हातामा अवस्थित कराते हल, तेक्वान्दो सातदोबाटोस्थित तेक्वान्दो हल र उसु त्रिपुरेश्वरस्थित राखेपको सेमी कभर्डहलमा हुनेछ ।
जम्मा ५६ स्वर्णका लागि प्रतिस्पर्धा हुनेछ । एथलेटिक्सको छात्र÷छात्रामा समान १३–१३ गरी २६ स्वर्ण, कराते, तेक्वान्दो र उसुको छात्र÷छात्रामा समान ६–६ गरी ३६ स्वर्ण तथा भलिबल र कबड्डीको छात्र÷छात्रमा समान १÷१ गरी ४ स्वर्णका लागि प्रतिस्पर्धा हुनेछ ।
प्रतियोगिताको कुल नगद पुरस्कार राशी ११ लाख ५२ हजार रुपैयाँ रहेको छ । प्रत्येक खेलको हरेक स्पर्धामा शीर्ष तीन स्थान हात पार्ने खेलाडीलाई नगद पुरस्कार प्रदान गरिने छ । समग्रमा शीर्ष तीन स्थान हात पार्ने टिमलाई पनि नगद पुरस्कार प्रदान गरिने छ । जुनियर राष्ट्रिय कीर्तिमानका लागि १५ हजार नगद पुरस्कारबाट पुरस्कृत गरिने छ । प्रतियोगिता बिहीबार सम्पन्न हुनेछ ।

तपाइँको प्रतिक्रिया ।