हेडसरका कथा : शिक्षा र समाजसेवामा समर्पित “गणेश कुमार मिश्र”

हेडसरका कथा : शिक्षा र समाजसेवामा समर्पित “गणेश कुमार मिश्र”

कपन अनलाइन

काठमाण्डौ, चैत २।

संसारमा अनगिन्ती मानिसहरु छन् जुन मानिसहरूलाई सही बाटोमा ल्याउनका लागि महत्वपूर्ण भूमिका खेल्ने एक तत्त्व हो ‘शिक्षा’ जसको अभावमा मानिस कदापि चेतनशील प्राणी बन्न सक्दैन।  यही अनगिन्ती मानिसहरूलाई चेतनशील बनाउने एक महत्वपूर्ण तत्त्वको रूप शिक्षा हो भने उक्त शिक्षा प्रदान गर्ने विशिष्ट व्यक्तित्व हो शिक्षक । यस्तै विशिष्ट व्यक्तित्वहरूमध्ये एक हुन् गणेशकुमार मिश्र ।

उनको जन्म विक्रम सम्वत २०२९ साल साउन ११ गते नुवाकोट जिल्लाको कविलास गाउँविकास समितिको  मिश्र गाउँमा भएको हो । उनी एक मध्यमवर्गीय किसान परिवारमा जन्मिएका थिए जसकारण उनको बाल्यकाल  गाउँघरकै डाँडा , पाखा , भन्ज्याङ , उकाली र ओरालीमा व्यतीत भएको थियो ।

उनले आफ्नो निम्न माध्यमिक र माध्यमिक तहको शिक्षा आफ्नै गाउँको एक सामान्य सामुदायिक विद्यालयबाट सम्पन्न गरेका थिए। यसपश्चात उनले त्रिचन्द्र बहुमुखी क्याम्पसबाट नेपाली विषयमा स्नातकोत्तर गरे भने यसको लगत्तै उनले पत्रकारितामा मास्टर्स पनि गरेका छन । साथसाथै उनले नेपाल ल क्याम्पसबाट एलएलबी तहको कानुनी डिग्री पनि हासिल गरेका छन।

शिक्षा नै एक त्यस्तो तत्व हो जसले मानिसलाई सभ्य,चेतनशील  र समाजमा अस्तित्वमा रहनको लागि मद्दत गर्ने बताउदै उनले शिक्षा नै समाज परिवर्तनको एक वाहक तत्त्व हो भन्ने बुझेको धारणा राखेका छन ।

उनले बालबालिका भनेका भविष्यका कर्णधार हुन् जसले उचित मात्रामा शिक्षा प्राप्त गर्न सकेमा मात्र राष्ट्रको भविष्य उज्यालो हुनेछ भन्ने बुझिसकेका थिए । यसकारण उनी विसं २०५२ साल मंसिर १६ गते त्रिज्योति माध्यमिक विद्यालयमा एक शिक्षकको रुपमा नियुक्त भएर शैक्षिक सेवा प्रदान गर्ने कार्यमा समर्पित भएका थिए । सो विद्यालयमा उनले विद्यार्थीहरू भित्र लुकेका प्रतिभाहरूको उत्खनन गर्दै विद्यार्थीहरूमा भएको क्षमता प्रस्फुटन गरी शिक्षा प्रदान गर्दै हाल २९ वर्ष व्यतित गरिसकेका छन्।

उनले आफ्नो जीवनको शैक्षिक यात्राका क्रममा विभिन्न प्रकारका कठिनाइहरूको सामना गर्दै आफ्नो शैक्षिक यात्रालाई अघि बढाए जहाँ उनले प्रशस्त मात्रामा अभिभावकहरूको पनि सहयोग पाए जसबाट उनलाई यस शैक्षिक क्षेत्रमा अझ हौसला प्राप्त भयो । अभिभावकहरूबाट समेत प्रशस्त मात्रामा सहयोग पाएका कारण उनले यस विद्यालयमा विद्यार्थीहरूलाई अझ थप प्रभावकारी र गुणस्तरीय शिक्षा प्रदान गर्न सफल भएका छन । विद्यार्थीहरूलाई ज्ञान ,सीप र दक्षता प्रदान गरी विद्यार्थीहरूमा नेतृत्वको सीप विकास गर्न उनी निरन्तर लागिरहेका छन्।

विद्यार्थीहरूलाई गुणस्तरीय शिक्षा प्रदान गरी कर्णधारको रूपमा निर्माण गर्दै आइरहेको यस विद्यालय हाल २९ औं वर्ष पूरा गरी तीसौँ वर्षमा प्रवेश गर्न सफल भएको छ ।

शैक्षिक क्षेत्रमा कदम चालेको बखत उनले नुवाकोट जिल्लाकै विभिन्न क्षेत्रहरूमा बालबालिकाहरूलाई शैक्षिक सेवा प्रदान गरेका थिए तर उनी काठमाडौँ आएपश्चात्  उनले औपचारिक रुपमा त्रिज्योति माध्यमिक विद्यालयबाट आफ्नो जीवनको शैक्षिक यात्रा सुरु गरेका थिए।

उनले आफ्नो शैक्षिक जीवन यात्राको क्रममा विभिन्न शैक्षिक सेवाहरू प्रदान गरेका थिए जसमा उनले राष्ट्रिय मानवअधिकार प्रशिक्षकको रूपमा प्रौढ शिक्षा प्रदान गर्दै यस कपन क्षेत्रमा रहेका महिला तथा प्रौढ नारीहरूलाई शिक्षा प्रदान गरेका थिए जसबाट नारी सशक्तिकरणमा विशेष सहयोग पुगेको थियो।

शैक्षिक क्षेत्रमा लागिसके पश्चात उनले अक्षर पढ्न नजान्ने आँखामा अक्षर पढ्न सक्ने ज्योति भर्दा प्राप्त भएको एक नौलो खुसीको अनुभूति गरे बताए भने  यसबाट  प्रभावित भएर निरन्तर शैक्षिक क्षेत्रमा योगदान प्रदान गरेको पनि अनुभूति सुनाएका छन ।

विद्यालयमा यस्ता धेरै योगदानहरू पुर्याई १८ वर्षसम्म उनले सहायक प्रधानाध्यापकको काम गरेर  उनी सो  विद्यालयको प्रधानाध्यापकमा नियुक्त हुन सफल भएका थिए ।

उनले शैक्षिक क्षेत्रमा जस्तो खुसीको अनुभव गरे त्यस्तो खुसीको अनुभव उनले अन्य कुनै क्षेत्रबाट पनि अनुभूति गर्न सकेनन् यसकारण उनले अबको आफ्नो बाँकी जीवन पनि शैक्षिक क्षेत्रमा नै व्यतीत गर्ने निधो गरेका छन्।

तपाइँको प्रतिक्रिया ।