थ्री एक्स थ्री बास्केटबलमा महिलाको सेमिफाइनल र पुरुषको क्वाटरफाइनल समिकरण पूरा

कपन अनलाइन

काठमाण्डौ फागुन २८। नेपाल बास्केटबल संघ र थ्री एक्स थ्री नेपाल बास्केटबलको संयुक्त आयोजनामा भइरहेको खुल्ला थ्री एक्स थ्री बास्केबटल प्रतियोगितामा महिलातर्फ सेमिफाइनल र पुरुषतर्फ क्वाटरफाइनल समिकरण पूरा भएको छ ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को सेमी कभर्डहलमा भइरहेको प्रतियोगितामा महिलातर्फ समूह ए बाट ललितपुर ए र पोहिलो नेपाल सेमिफाइनल पुगेका छन् भने समूह बी बाट आईआईएमएस र आईएसए नेपाल सेमिफाइनल पुगेका छन् ।
अब सेमिफाइनलमा ललितपुर ए ले आईएसए नेपाल तथा आईआईएसएमले पोशिलो नेपालसँग खेल्नेछ ।
यस्तै पुरुषतर्फ आइतबारको खेलपछि क्वाटरफाइनल पुग्ने ८ वटै टोलीको टुङ्गो लागेको छ ।
विभागीय टोली आर्मीको ए, बी र सी टोलीसहित हाउण्ड्स एकेडेमी ए, टाइम्स ए, बंगलादेश नेभी, बीएमके क्लब,  र ललितपुर बी अन्तिम आठमा पुगेका हुन् ।
प्रिक्वाटरफाइनलमा आर्मी ए ले ललितपुर ए लाई २१–१५ ले, आर्मी बी ले हाउण्ड्स एकेडी सी लाई २१–८ ले र आर्मी सी ले कीर्तिपुरलाई २१–१७ ले हरायो ।
यस्तै हाउण्ड्स एकेडेमी ए ले टाइमआउट बी लाई २१–१० ले, टाइम्स ए ले टाइमआउट एलाई २१–१७ ले, बंगलादेश नेभीले  टाइम्स बी लाई २१–१८ ले, बीएमके क्लबले इन्डपेन्डेन्ट युनिभर्सिटी बंगलाशेलाई २१–२० ले तथा ललितपुर बी ले बर्न टु हुपलाई २१–१९ ले हरायो ।
अब पुरुषको क्वाटरफाइनल, सेमिफाइनल र फाइनल तथा महिलातर्फको सेमिफाइनल र फाइनल खेल सोमबार हुनेछ ।
पुरुषतर्फ ३२ तथा महिलातर्फ ८ गरी ४० टिमको सहभागिता रहेको प्रतियोगिताको पुरुष विजेताले १ लाख र उपविजेताले ५० हजार नगद पुरस्कार पाउने छन् । यस्तै महिलामा विजेताले ५० हजार र उपविजेताले नगद २५ हजार पुरस्कार पाउनेछन् । पुरुष र महिला दुवैमा ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित हुनेलाई जनही १५–१५ हजार नगदबाट पुरस्कृत गरिने छ ।

तपाइँको प्रतिक्रिया ।