ग्रिनल्यान्ड, हिमरश्मि र विल्सनलाई उपाधि

ग्रिनल्यान्ड, हिमरश्मि र विल्सनलाई उपाधि

कपन अनलाइन

काठमाण्डौ,फागुन ९।

ग्रिनल्यान्ड, हिमरश्मि र विल्सन एकेडेमीले प्रथम किङडम हिमालयन अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको उपाधि बुधबार जितेका छन् । ग्रिनल्यान्ड सिनियर गल्र्स, हिमरश्मि जुनियर ब्वाइज र विल्सन सिनियर ब्वाइजमा च्याम्पियन बने ।
किङडम हिमालयन बोर्डिङ स्कुलद्वारा आयोजित प्रतियोगिताको सिनियर गल्र्सको फाइनलमा ग्रिनल्यान्डले फेरिल्यान्डलाई २१–१० ले पराजित ग¥यो । ग्रिनल्यान्डकी विहानी राईले १० अंक जोडिन् । जुनियर ब्वाइजको फाइनलमा हिमरश्मिले भ्याली पब्लिकलाई २६–२५ को साँघुरोअन्तरले हरायो । हिमरश्मिका आयुश पोखरेलले १२ स्कोर गरे । सिनियर ब्वाइजमा विल्सनले इडेन ब्रिज एकेडेमी (इबीए) लाई ४३–३७ ले पाखा लगायो । विल्सनका युकेश गुरुङले १२ स्कोर गरे ।
सिनियर ब्वाइजमा विल्सनका अनुप मगर, सिनियर गल्र्समा ग्रिनल्यान्डकी विहानी राई र जुनियर ब्वाइजमा हिमरश्मिका आयुश पोखरेल ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भए । सिनियर ब्वाइजमा किङडम हिमालयनका छेवाङ लामा, सिनियर गल्र्समा किङडमकै छिरिङ लामा र जुनियर ब्वाइजमा भ्याली पब्लिकका आर्यन गुरुङ उत्कृष्ट ‘थ्री प्वाइन्टर’ चुनिए ।
सिनियर ब्वाइजमा ग्रिनल्यान्डका सुहान भण्डारी, सिनियर गल्र्समा फेरिल्यान्डकी कृतिका कटुवाल र जुनियर ब्वाइजमा किङडमका छिमे रिन्जेन लामा प्रतियोगिताकै सर्वाधिक स्कोरकर्ता बने । सिनियर ब्वाइजमा प्राण्जली, सिनियर गल्र्समा किङडम हिमालयन र जुनियर ब्वाइजमा ह्वाइट माउन्टेनले अनुशासित टिमको उपाधि हात पारे ।
विजेतालाई नेपाल बास्केटबल संघका महासचिव नरेन्द्र थापा, किङडम हिमालयनकी संस्थापक अध्यक्ष कान्छीमाया शेर्पा, किङडम हिमालयनका प्रिन्सिपल छेवाङ लामा शेर्पालगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । फागुन २ गतेदेखि सुरु प्रतियोगिताको सिनियर ब्वाइज र गल्र्समा समान ८–८ तथा जुनियर ब्वाइजमा १६ टिम सहभागी   थिए ।

तपाइँको प्रतिक्रिया ।