काठमाडौँ महानगरपालिका क्षेत्रभित्र कटन क्यान्डी (मिठाइ) विक्री गर्न निषेध
कपन अनलाइन
काठमाडौं,माघ १५।
काठमाडौँ महानगरपालिकाले आफ्नो क्षेत्रभित्र कटन क्यान्डी (मिठाइ) विक्री गर्न निषेध गरेको छ । बालबालिका लक्षित यसको नमूना परीक्षणमा ‘रोडामीन बी’ नामक अखाद्य रङ्ग भेटिएपछि यसले बाल स्वास्थ्यमा पार्ने असर रोक्न सार्वजनिक सूचना प्रकाशन गरेर मिठाइ उत्पादन तथा विक्रीमा रोक लगाइएको हो ।
सूचनामा भनिएको छ, ‘‘आम उपभोक्ताको स्वास्थ्यमा गम्भीर असर पु¥याउने यस्ता अखाद्य रङ्गयुक्त वस्तु प्रयोग तथा बिक्री वितरण नगर्न नगराउन अनुरोध छ । यदि काठमाडौँ महानगरपालिका क्षेत्रभित्र अखाद्य वस्तु उत्पादन, बिक्री वितरण गरेको पाइएमा ‘काठमाडौँ महानगरपालिका बजार व्यवस्थापन तथा अनुगमन ऐन, २०७७’ को दफा ३० बमोजिम ५ हजार रुपैयाँदेखि २ लाख रुपैयाँसम्म जरिवाना हुने समेत जानकारी गराइन्छ ।’’
खानेकुरा किन्दा उत्पादन मिति, उपभोग्य मिति, अधिकतम मूल्य, खाद्य अनुज्ञा अनुमति पत्र सम्बन्धी जानकारी भएको लेवल हेरेर मात्र खरिद गर्न महानगरपालिकाले उपभोक्तालाई आग्रह गरेको छ ।