बुढानिलकण्ठमा ठेकेदार विरुद्ध मुद्दा दायर : घुस लिने सब इन्जिनियरको मतियार
कपन अनलाइन
काठमाण्डौ ,पुस २४ ।
मुख्य कसुरदारको मतियारका रुपमा हुने गरी बुढानिलकण्ठ नगरपालिकामा काम गरेका एक ठेकेदारलाई सजायको मागदाबी गरिएको आयोगका सहायक प्रवक्ता देवी प्रसाद थपलियाले जनाएका छन् ।
बुढानीलकण्ठ नगरपालिकामा कार्यरत सब–इन्जिनियर (करार) टीकाराज राईले घर निर्माण सम्पन्न भएको प्रमाणपत्र उपलब्ध गराए बापत सेवाग्राहीसँग घुस लिएको दाबीसहित दायर गरिएको मुद्दामा ठेकेदार रामचन्द्र सुनुवारलाई मुख्य कसुरदारको मतियार मानिएको छ।
टंगालबाट खटिएको आयोगको टोलीले सब इन्जिनियर राईलाई सेवाग्राहीबाट ८० हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा उक्त रकमसहित गत मङ्सिर १४ गते नियन्त्रणमा लिएको थियो ।
सवइन्जिनियर राई र ठेकेदार रामचन्द्र सुनुवारले आपसी मिलोमतो गरी निर्माण भएका घरको नक्सा संशोधन गरी घर निर्माण सम्पन्न प्रमाणपत्र उपलब्ध गराउने प्रयोजनार्थ सेवाग्राहीसँग ८० हजार घुस माग गरी लिएको पुष्टि भएको भन्दै आयोगले मुद्दा दायर गरेको छ ।
