जयशंकरको नेपाल भ्रमण प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणमा भएका सम्झौता कार्यान्वयनमा केन्द्रित हुन्छ: दिनानाथ शर्मा
कपन अनलाइन
काठमाडौं , पुस १९।
नेकपा (माओवादी केन्द्र) का प्रभावशाली नेता तथा पूर्वमन्त्री दिनानाथ शर्माले नेपाल र भारतबीचको सम्बन्ध युगौंदेखि सुमधुर र राम्रो रहेको बताएका छन् ।
भारतीय विदेशमन्त्री डा. एस जयशंकरको नेपाल भ्रमणको पूर्वसन्ध्यामा रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको विशेष–साक्षात्कारमा बोल्दै उनले भने,‘दुई देशबीच युगौंदेखि राम्रो सम्बन्ध छ । हामीबीच केवल कुटनीतिमात्रै नभएर जनस्तरमा पनि राम्रो सम्बन्ध छ । आर्थिक, सामाजिक र सांस्कृतिक सम्बन्ध छ । दुई देशको सम्बन्धलाई सुदृढ गर्न उच्चस्तरीय भ्रमण आदानप्रदान भैरहेका छन् । राज्यको तर्फबाट प्रतिनिधिहरु जाने, आपसमा बदलिँदो परिवेशअनुसार छलफल गर्ने र दुई देशबीचको हितमा केन्द्रित भएर विश्वासको वातावरण सिर्जना गर्ने काम भएको छ । यो राम्रो हो ।’
उनले भारतीय विदेशमन्त्री जयशंकर नेपाल भ्रमणमा रहँदा प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणमा भएका सम्झौता कार्यान्वयन जोड दिने बताए । उनले भने,‘भारतीय विदेशमन्त्री आउँदै हुनुहुन्छ, यो भ्रमणले प्रधानमन्त्री प्रचण्ड भारत भ्रमणमा जाँदा भएका सहमतिहरुलाई कार्यान्वयन गराउने वातावरण बनाउनेछ । नेपालको आर्थिक हितको लागि सहयोग पुर्याउनेछ । पावर ट्रेडलाई मूर्त रुप दिने काम गर्नेछ । दुई देशबीचको व्यापार घाटालाई सन्तुलन कायम गर्नको लागि यसप्रकारको भ्रमणले महत्वपूर्ण योगदान दिनेछन भन्ने विश्वास राख्नुपर्छ । त्यस्तै, चिनियाँ प्रतिनिधिमण्डलपनि यहाँ आउँदैछ । भ्रमणको क्रममा कतिपय सम्झौता भएका छन्, ती विषयपनि सरकारको तर्फबाट महत्वपूर्ण रुपमा अघि बढाउने र चिनियाँहरुको सहयोग ल्याउनको लागि सरकारको तर्फबाट गृहकार्य भैरहेको छ ।’
नेपाल भारत र चीनजस्ता ठूला अर्थतन्त्र भएका मुलुकका बीचमा रहेको उल्लेख गर्दै उनीहरुबाट देशको विकासको लागि प्रचण्ड नेतृत्वको सरकारले केही समय यतादेखि काम गरेको उनको दाबी छ । उनले भने,‘अन्तर्राष्ट्रिय रुपमै नेपालको छविलाई अगाडि ल्याउनको लागि अनि विश्वासको वातावरण बनाउनको लागि यो सरकारले प्रयत्न गरेको छ । केही हदसम्म सफल भएको छ । देशको अर्थतन्त्रमा योगदान दिनको लागि यी भ्रमणले योगदान नै दिन्छन् ।’
उनले नेपालका शीर्ष नेताहरुबीच छलफल तथा सम्वाद हुनु नौलो कुरा नभएको टिप्पणी गरेका छन् । टिआरसी टुँगो लगाउने र राष्ट्रियसभाको निर्वाचनमा केन्द्रित रहेर प्रमुख तीन दल कांग्रेस, एमाले र माओवादीका नेतृत्वबीच भैरहेको छलफललाई केन्द्रित गरेर उनले यस्तो टिप्पणी गरेका हुन् । उनले भने,‘शीर्ष नेताहरुबीच विश्वासको वातावरण सिर्जना गर्नुपर्छ । पछिल्लो चरणमा परिवर्तनका वाहक शक्तिहरुका शीर्ष नेताहरुबीच परिवर्तनको रक्षाको लागि छलफल तथा भेटवार्ता हुनु सकारात्मक कुरा हो । अहिले परिवर्तनको विरुद्धमा कुनै कुनै कोणबाट भ्रम उत्पन्न गरिएपछि यो शक्तिबीच विश्वासको वातवारण बन्ने काम भएको छ । राष्ट्रिय हितमा केन्द्रित भएर विश्वासको वातावरण बनाउनुपर्छ । त्यसको लागि प्रचण्ड, देउवा, ओलीजीबीच सम्वाद भैरहेको छ । यसलाई स्वभाविक रुपमा लिनुपर्छ । राष्ट्रिय हितको लागि आपसी विश्वासको वातावरण बनाउनु राम्रो कुरा हो ।’
शर्माले अहिलेको सत्ता गठबन्धन अहिले केही नहुने दाबी गरे । उनले भने,‘यो गठबन्धन निरन्तर जान्छ । यो कुनै तलमाथि हुँदैन् । आवश्यक पर्यो भने एमालेलाई (प्रतिनिधिविहीन) बनाउने पक्षमा छैन् । संविधान नै कोलिसन कल्चरलाई बढावा दिनेछ ।’