लैनचौर डोजोका खेलाडी सम्मानित

लैनचौर डोजोका खेलाडी सम्मानित

कपन अनलाइन

काठमाण्डौ,पुस १२ ।

लैनचौर शाखा डोजोले आफ्ना पदक विजेता खेलाडीलाई स्कुटर तथा नगदसहित सम्मान गरेको  छ । बुधबार आयोजित कार्यक्रममा सातौं दक्षिण एसियाली कराते च्याम्पियनसिपका पदक विजेता चार खेलाडीलाई नगदसहित र अन्य तीन खेलाडीलाई स्कुटरबाट सम्मान गरेको हो ।
डोजोले सातौं दक्षिण एसियाली कराते च्याम्पियनसिपका स्वर्ण विजेता रेहान जावेद, सोनु श्रेष्ठ, विनिता श्रेष्ठ र सुस्मिता वाइवालाई नगद १० हजार रुपैयाँसहित सम्मान गरेको हो । च्याम्पियनसिपमा जावेदले क्याडेटतर्फ पुरुष १४–१५ वर्ष समूहको कातामा स्वर्ण जितेका थिए । यस्तै सोनुले यू–२१ ५५ केजीमा तौल समूह र विनिताले सिनियर महिलाको खुलामा स्वर्ण पदक जितेका थिए । सुस्मिताले भने सिनियर महिलाको ५५ केजीमा रजत पदक जितेकी  थिइन् ।
यसैगरी डोजोले निरुपा तामाङ, विनिता श्रेष्ठ र रोजिता ढुंगेललाई स्कुटर प्रदान गरेको थियो । गत असोजमा इन्डोनेसियामा भएको सितेरियो वल्र्ड च्याम्पियनसिपमा निरुपाले रजत पदक जितेकी थिइन् । विनिता सातौं दक्षिण एसियाली कराते च्याम्पियनसिपकी स्वर्ण विजेता हुन् भने रोजिताले नवौं राष्ट्रिय खेलकुदमा स्वर्ण पदक जितेकी थिइन् ।
पदक विजेता खेलाडीलाई लैनचौर डोजोका सल्लाहकार एवं वरिष्ठ कराते प्रशिक्षक मधु लामा, सल्लाहकार अनित न्यौपाने, डोजो अध्यक्ष राम थारु, वरिष्ठ उपाध्यक्ष लक्ष्मण खड्का र कोषाध्यक्ष चन्द्र खड्कालगायतले सम्मान गर्नुका साथै स्कुटरको साँचो हस्तान्तरण गरेका थिए ।

तपाइँको प्रतिक्रिया ।