काठमाण्डौ महानगरबासीलाई निःशुल्क रगत र रक्त तत्व उपलव्ध हुने

काठमाण्डौ महानगरबासीलाई निःशुल्क रगत र रक्त तत्व उपलव्ध हुने

कपन अनलाइन

काठमाण्डौ ,असोज २३ ।

काठमाण्डौ महानगरबासीलाई निःशुल्क रगत र रक्त तत्व उपलब्ध गराउन  काठमाडौँ महानगरपालिकाले नेपाल रेडक्रस सोसाइटीसँग सम्झौता गरेको छ । प्रमुख बालेन्द्र शाह (बालेन) र उपप्रमुख सुनिता डंगोलको रोहवरमा महानगरपालिकाका तर्फबाट स्वास्थ्य विभागका प्रमुख रामप्रसाद पौडेल र नेपाल रेडक्रस सोसाइटीकातर्फबाट उपमहामन्त्री मनोजकुमार थापाले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन  ।

यस अघि निःशुल्क एम्बुलेन्स सेवा सञ्चालन भइरहेको छ । स्वास्थ्य सेवालाई सहज र पहुँचयुक्त बनाउन रगत र रक्ततत्व निःशुल्क उपलब्ध गराउन लागिएको हो ।

सम्झौतापछि संक्षिप्त प्रतिक्रिया दिँदै महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले, रगत प्राप्त गर्न कसैलाई फोन गराउनु नपर्ने, शिफारिस गराउनु नपर्ने गरी रक्त सञ्चार सेवा सञ्चालन गर्नु पर्ने बताइन  । ‘नियमित रक्तदान कार्यक्रम र संकलित रगतको उचित व्यवस्थापनबाट अभाव कम गराउन सकिन्छ । यसबेला कसैलाई शिफारिस गर्नु पर्ने स्थिति हुँदैन ।’ उनले भनिन यो, ‘महानगरबासीबाट थालिएको निःशुल्क रगत र रक्ततत्व उपलब्ध गराउने कार्यक्रमको प्रभाव हेरेर विस्तार गरिनेछ ।’

जनस्वास्थ्य विभागका प्रमुख पौडेलकाअनुसार, महानगरपालिकाबासीलाई उपलब्ध गराइने रगतको व्यवस्थापनका लागि रक्त सञ्चार सेवालाई रकम उपलब्ध गराइनेछ । यसका लागि प्रति युनिट १ हजार १६० रुपैयाँ र क्रस म्याच गराउनु परे थप २ सय रुपैयाँ उपलब्ध गराइनेछ ।

सम्झौतामा महानगरका वडाबाट रक्तदान कार्यक्रम आयोजना र अन्य रक्तदानका कार्यक्रममा खाजावापत प्रत्येक रक्तदातालाई २ सय रुपैयाँ उपलब्ध गराउने बुँदा महत्वपूर्ण छ । रेडक्रस सोसाइटीका अध्यक्ष प्रा. सुदर्शनप्रसाद नेपालले भने , ‘रक्त व्यवस्थापनमा महानगरपालिकाले लिएको नेतृत्वबाट ठूलो सघाउ पुग्नेछ ।’

सम्झौताबमोजिम महानगरपालिकाले पहिलो चरणमा ३ लाख रुपैयाँ उपलब्ध गराउनेछ । केन्द्रीय रक्त सञ्चार सेवाले हरेक ३ महिनामा महानगरपालिकामा खर्च विवरण पठाउनेछ । निकासा गरिएको ८० प्रतिशत रकम सकिएपछि रक्त सञ्चारले प्रतिवेदन पेश गर्नेछ । यसका आधारमा महानगरपालिकाले थप निकासा दिनेछ ।

बागमती प्रदेशले महानगरपालिकाभित्रका ५ वटा अस्पतालहरु (परोपकार स्त्री तथा प्रसुति अस्पताल, कान्ति बाल अस्पताल, त्रि. वि. शिक्षण अस्पताल, बीर अस्पताल र सहिद गंगालाल हृदय केन्द्र) मा आफ्ना प्रदेशका विरामीले उपचार गराउँदा चाहिने रगत र रक्त तत्वको खर्च व्यहार्न सम्झौता गरिसकेको छ । यसबाहेकका अस्पतालका लागि महानगरपालिकाले व्यवस्थापन खर्च व्यहार्नेछ ।

सेवा लिनका लागि महानगरपालिकाको स्थायी बासिन्दा भएको प्रमाण पेश गर्नुपर्नेछ । नागरिकता, मतदाता परिचय पत्र, बसाइँसराइ आएको प्रमाण पत्र, जन्म दर्ता, विवाह दर्ताका प्रमाण पत्रजस्ता काजगमध्ये कुनै एउटा पेश गरे हुनेछ । यस्ता कागजलाई विरामी वा विरामीका आफन्तले प्रमाणित गर्नुपर्नेछ ।

आकस्मिक र आपतकालीन अवस्थामा प्रमाण दिएर सेवा लिन नसक्ने अवस्था भएमा तिरिएको शुल्क प्रमाणका आधारमा शोधभर्ना दिइनेछ ।

तपाइँको प्रतिक्रिया ।