बालश्रम मुक्त वडा बनाउने अभियानमा चन्द्रागिरि नगरपालिका

बालश्रम मुक्त वडा बनाउने अभियानमा चन्द्रागिरि नगरपालिका
 चन्द्रागिरि नगरपालिका वडा नं. ३ बालश्रम मुक्त वडा घोषणा भएको छ । वडाले एक भव्य समारोहको आयोजना गरी वडालाई बालश्रम मुक्त वडा घोषणा गरेको हो ।
वडामा बालश्रम मुक्त वडा बनाउनका लागि बाल विकास समाज वल्ड भिजन इन्टरनेसनल नेपाल रक्षा नेपाल जस्ता सामाजिक संघ संस्थाहरुले कार्यक्रमहरु सञ्चालन गरिरहेका थिए । ३ नं. वडालाई बालश्रम मुक्त बनाउने अभियानमा लागेका संघ संस्था नागरिक समाज अन्य सरोकारवाला पक्षहरुको निरन्तर प्रयासबाट यो नतिजा देखिएको हो ।
बालमैत्री स्थानीय शासन लागू गरी नगरपालिकाले विभिन्न बालमैत्री अभियानहरु सञ्चालन गरिरहेको छ । बालश्रम मुक्त वडाका लागि पूरा गर्नुपर्ने सूचकहरु पूरा गरी वडालाई बालश्रम मुक्त बनाएको हो ।
नगर प्रमुख घनश्याम गिरीको प्रमुख अतिथ्यतामा सम्पन्न घोषणा कार्यक्रममा राष्ट्रिय बालअधिकार परिषद श्रम तथा रोजगार कार्यालय श्रम तथा रोजगार मन्त्रालय स्थानीय जनप्रतिनिधि कार्यपालिका सदस्यहरु सबै वडाका वडा अध्यक्ष नागरिक समाज संघ संस्थाका प्रतिनिधि वडावासी नागरिकहरुको बाक्लो उपस्थिती रहेको थियो । कार्यक्रममा विभिन्न वक्ताहरुले शुभ कामना दिएका थिए भने प्रमुख अथिति घनश्याम गिरीले २०८० सालभित्र यस चन्द्रागिरि नगरपालिकालाई बालमैत्री नगरको रुपमा स्थापित गर्ने प्रतिवद्धता नगरकार्यपालिका बैठकबाट नै गरिएको र सोही अनुसार बजेट व्यवस्थापन गरी विभिन्न संघ संस्थाहरुसँग सहकार्य गरी बालमैत्री सुशासन कायम गर्ने अभियानमा नगरपालिका लागेको बताउनु भएको थियो ।
बालबालिकाको अधिकार सुनिश्चित गर्ने सवालमा नगरपालिकाले कुनै पनि कसर बाकी नराख्ने कुरामा जोड दिदै बालबालिका भनेका राष्ट्रका सम्पति हुन त्यसकारण पनि बालबालिकामा लगानी अपिरिहार्य भएको कुरा समेत नगर प्रमुख गिरीले बताउनु भएको थियो । बालबालिकाको लागि काम गर्ने मौका दिएको प्रति आभारी हुँदै आगामी दिनहरुमा पनि बालबालिकाको समृद्धिका लागि हामी हातेमालो गर्न तयार रहेको बाल विकास समाजका महासचिव काजीबाबु पाण्डेयले बताउनु भएको थियो ।
वडामा बालश्रम प्रयोगको अनुगमनका क्रममा बालश्रममा संलग्न बालबालिकालाई परिवारमा पुनस्थापना साथै विद्यालयमा भर्ना गरी उनीहरुलाई सहयोग गर्दै बालश्रम मुक्त वडा बनाइएको वडा नं. ३ का वडा अध्यक्ष दुर्गालाल महर्जनले बताउनु भएको थियो । चन्द्रागिरि नगरपालिकामा १५ वटा वडा रहेका छन भने वडा नं. १४ यस अघि नै बालश्रम मुक्त वडा घोषणा भइसकेको छ ।
तपाइँको प्रतिक्रिया ।