कीर्तिपुर नगरपालिका वडा नं ७ काठमाडौं जिल्लाकै पहिलो बालमैत्री वडा घोषणा

कीर्तिपुर नगरपालिका वडा नं ७ काठमाडौं जिल्लाकै पहिलो बालमैत्री वडा घोषणा
काठमाडौंको कीर्तिपुर नगरपालिका वडा नं. ७ ले एक भव्य समारोह गरी बालमैत्री वडा घोषणा गरेको छ ।
बाल विकास समाज र वल्ड भिजन इन्टरनेस्नल नेपालको सहकार्यमा वडाले बालमैत्री वडाका लागि पूरा गर्नुपर्ने सूचकहरु सबै पूरा गरी कीर्तिपुर नगरपालिका वडा नं. ७ काठमाडौं जिल्लाकै पहिलो वडा बालमैत्री बन्न सफल भएको छ । वडालाई बालमैत्री बनाउने सबैको दायित्व जिम्मेवारी भए तापनि सो अनुसार काम नभइरहेको अवस्थामा कीर्तिपुरले जिल्लाकै पहिलो वडा बालमैत्री बनाएर इतिहास रच्न सफल भएको छ।
महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयका माननीय मन्त्री सुरेन्द्रराज आचार्यको प्रमुख अतिथि तथा कीर्तिपुर नगरपालिकाका कार्यवाहक नगर प्रमुख शुभलक्ष्मी शाक्यको सभाध्यक्षतामा भएको घोषणा कार्यक्रममा बागमति प्रदेशका सहकारी तथा पर्यटन मन्त्री माननीय पुकार महर्जन, संघीय सांसद माननीय कुमार केसी काठमाडौं जिल्ला समन्वय समितिका प्रमुख, अन्य नगरपालिकाका प्रमुखहरुले शुभकामना मन्तव्य रखेका थिए ।
समारोहमा स्वागत गर्दै वडा नं ७ का वडा अध्यक्ष दिवाकर अधिकारीले वडाबासी सबैको साथ र हौसला सरकारी गैर सरकारी निकायहरुको सहकार्य र वडाको निरन्तर प्रयासले आज यो जिल्लाकै पहिलो बालमैत्री वडा घोषणा गर्न सफल भइएको कुरा बताए । बालमैत्री वडालाई कायम राख्नका लागि आगामी दिनमा चुनौति भए तापनि सोही अनुसारको राणनीति र योजना तयार गरी अनुगमन गर्दै वडाबासीको साथ र सहयोगमा बालमैत्री वडा कायम राख्ने प्रतिवद्धतासमेत व्यक्त गरेका थिए ।
त्यसैगरी माननीय महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री सरेन्द्रराज आचार्यले बालमैत्री स्थानीय शासन कार्यान्वयन निर्देशिका २०७८ कार्यन्वयन गर्ने काठमाडौं जिल्लाका पहिलो वडा कीर्तिपुर नगरपालिका वडा नं. ७ भएकोले शुभकामना तथा बधाइ दिएका थिए । बालअधिकार संरक्षण तथा प्रवद्र्धन गर्ने दायित्व राज्य नागरिक संघसंस्था सबैको भएकोले बालबालिकाहरुलाई सम्मानसहितको संरक्षणमा सबै जुट्न आग्रहसमेत गरेका थिए ।
बालबालिकाका लागि आवश्यक नीति ऐन तर्जूुमा गर्न मन्त्रालय सधै लागिपर्ने कुरा बताउदै राष्ट्रिय बाल नीति संघीय संसदको विषयगत समितिमा पेस भएको र अब चाडै सो नीति पास हुने प्रक्रियामा रहेको कुरासमेत बताएका थिए । कार्यक्रममा बागमती प्रदेशका माननीय मन्त्री, संघीय सांसद, जिल्ला समन्वय समितिका प्रमुख, अन्य नगरपालिकाका प्रमुख, सरकारी तथा गैरसरकारी निकायका पदाधिकारीहरुले शुभकामना मन्तव्य राखेका थिए ।
सोही क्रममा बालअधिकार हननबाट जोगाउदै बालबालिकाहरुलाई सम्मानका साथ हुर्काउने वातावरणमा सबै अभिभावक राज्य नागरिक संघसंस्थाहरुको दायित्व तथा जिम्मेवारी हुने कुरा बताएका थिए ।
कार्यक्रमको समापन गर्दै कीर्तिपुर नगरपालिकाकी कार्यवाहक नगरप्रमुख शुभलक्ष्मी शाक्यले बालमैत्री वडा निर्माणका लागि प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा सहयोग गर्नुहुने सबै प्रति आभार प्रकट गर्दै आगामी दिनमा सिंगो नगरपालिकालाई नै बालमैत्री नगर बनाउने अभियान रहेको र सो अभियानका लागि हातेमालो गर्न नगरबासी तथा संघसंस्थाहरुलाई आग्रह समेत गरेकी थिइन ।
कार्यक्रममा सरकारी तथा गैरसरकारी निकायका प्रतिनिधि, बालबालिकाहरुको बाक्लो उपस्थिती रहेको थियो । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले २०७८ असार २७ को निर्णयबाट बालमैत्री स्थानीय शासन कार्यान्वयन निर्देशिका जारी भएपछिको काठमाडौं जिल्लाकै पहिलो बालमैत्री वडा कीर्तिपुर ७ ले बालबालिकाको क्षेत्रमा योजनासहितको लगानी अपरिहार्य छ भन्ने सन्देश समेत दिएको छ ।
तपाइँको प्रतिक्रिया ।