टेबलटेनिसको सम्मान र बिदाइ कार्यक्रम सम्पन्न
कपन अनलाइन
काठमाडौं, असार ३० ।
अखिल नेपाल टेबलटेनिस संघले दुई अन्तर्राष्ट्रिय प्रतियोगिताका पदक विजेता खेलाडीलाई शुक्रबार एक कार्यक्रमबीच सम्मान ग¥यो । लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको सोही कार्यक्रममा २५ औं एसियाली जुनियर टेबलटेनिसमा भाग लिने खेलाडी तथा १९ औं एसियाली खेलकुदको तयारीका लागि बैदेशिक प्रशिक्षणमा जाने टोलीलाई पनि बिदाइ गरियो ।
टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङ, अखिल नेपाल टेबलटेनिस संघका अध्यक्ष एवं नेपाल ओलम्पिक कमिटीका कार्यकारी निर्देशक चतुरानन्दराज वैद्यलगायतले खेलाडीलाई सम्मान गर्नुका साथै सफलताको शुभकामनासहित बिदाइ गरे ।
दक्षिण एसियाली युथ टेटेका पदक विजेता सम्मानित ः
भारतमा भएको दक्षिण एसियाली युथ टेबलटेनिस च्याम्पियनसिपका पदक विजेता सबै खेलाडीलाई जनही १० हजार नगदसहित सम्मान गरिएको थियो । बैशाख ३१ देखि जेठ ४ गतेसम्म भएको प्रतियोगितामा नेपालले १ स्वर्ण, १ रजत र ७ कांस्य पदक जितेको थियो ।
यु–१९ ब्वाइज टिममा सुजन गडाल, विशाल गोले, विश्व बानियाँ र सिद्धार्थ तामाङले नेपाललाई स्वर्ण दिलाएका थिए । यु–१५ गल्र्स डबल्समा सुस्मिता खड्का र शुभश्री श्रेष्ठले रजत जितेका थिए ।
त्यस्तै यु–१५ ब्वाइज टिममा सिद्धार्थ तामाङ, सौरभ खड्का र एरिस शाक्य, यु–१९ गल्र्स डबल्समा वियंका राई र इभाना थापा मगर, यु–१९ मिक्स डबल्समा सुजन गडाल र वियंका राई, यु–१९ ब्वाइज डबल्समा विशाल गोले र विश्व बानियाँ, यु–१९ मिक्स डबल्समा सिद्धार्थ तामाङ र शुभश्री श्रेष्ठ, यु–१९ गल्र्स टिममा वियंका राई, इभाना थापा मगर, दिया देउला र शुभश्री श्रेष्ठ तथा यु–१५ गल्र्स टिममा सुस्मिता खड्का, करिना सुवाल र शुभश्री श्रेष्ठले कांस्य जितेका थिए ।