फुटबलमा नेपालको स्थान खस्कँदै
काठमाडौँ, २४ असार । यसअघि एकसय ८३ औँ स्थानमा रहेको नेपाल फिफा बरियतामा दुई स्थान तल झर्दै १८५ औँ स्थानमा ओर्लिएको छ ।
विश्व फुटबलको सर्वोच्च निकाय फिफाले आज सार्वजनिक गरेको नयाँ बरियतामा नेपाल दक्षिण एसियाली मुलुकमा सबैभन्दा पुछारमा पुगेको हो ।
दक्षिण एसियाली मुलुकमा सबैभन्दा माथि रहेको अफगानिस्तान १७ स्थान माथि उक्लदै १३४औँ स्थानमा पुगेको छ । त्यस्तै भारत १५४, भुटान १६६, बङ्गलादेश १६९, पाकिस्तान १७२ स्थानमा रहेका छन् भने दुईस्थान सुधारेको माल्दिभ्स १७६ औँ र तीन स्थान सुधारेको श्रीलङ्का १८३ औँ स्थानमा उक्लिएको फिफाले जनाएको छ । एसियाली मुलुकमा सबैभन्दा माथि इरान ३८आँै स्थानमा छ ।
यसैगरी विश्व विजेता जर्मनलाई पछिपार्दै अर्जेन्टिना पहिलो नम्बरमा पुगेको छ । हालै सम्पन्न कोपा अमेरिकामा उपविजेता बनेको अर्जेन्टिनाले दुई स्थान सुधार्दै शीर्ष स्थानमा पुगेको हो ।
यस्तै जर्मनी दोस्रो, बेल्जियम तेस्रो, कोलम्बिया चौथो र नेदरल्याण्डस् पाचौँ स्थानमा छन् । ब्राजिल छैठाँै, पोर्चुगल सातौँ र रोमानिया आठाँै, इङ्ल्याण्ड नवौँ र वेल्स दसौँ स्थानमा रहेको फिफाले जनाएको छ ।