क्रिष्टल माला, चुरा, पोते बनाउने तालिम हुदै
कपन अनलाइन
काठमाडौँ, जेठ २६ । महिलाहरुको सिप तथा क्षमता अभिवृद्धि गराई आत्मनिर्भर बनाउने उदेश्य सहित क्रिष्टल माला, चुरा, पोते बनाउने तालिम प्रदान गरिने भएको छ । श्री बौद्धनाथ क्षेत्र विकास समितिको आर्थिक सहयोग तथा दीपश्री क्रियटिभ मिडियाको आयोजनामा जेठ २८ गते देखि असार ३ गते सम्म श्री बौद्धनाथ क्षेत्र विकास समितिको सभाहलमा क्रिष्टल माला, चुरा, पोते बनाउने तालिम प्रदान गर्न लागिएको हो ।
महिलाहरुमा आत्मनिर्भर बढाउनुका साथै घरैमा बसेर पनि आम्दानी गर्न सकिने अवस्था सृजना गर्ने उदेश्यका साथ काठमाडौं महानगरपालिका वडा नं ६ क्षेत्रमा बसोबास गर्ने २० जना बेरोजगार महिलाहरुलाई लक्षित गरि उनीहरुको क्षमता तथा विकास अन्तर्गत ७ दिने उक्त तालिममा सहभागी हुन श्री बौद्धनाथ क्षेत्र विकास समितिको सदस्य जानुका भण्डारी श्रेष्ठले अनुरोध गरेकी छिन ।
महिलाहरु आर्थिक रुपमा कमजोर हुँदा पछाडि परेको हुँदा उनीहरुलाई सीप सिकाइ व्यवसायिक र आत्मनिर्भर बनाउने प्रयास अनुरुप उक्त तालिमलाइ समितिले सहयोग गरेको बताइन । श्री बौद्धनाथ क्षेत्र विकास समितिले बौद्धनाथ महाचैत्यको संरक्षण सम्बर्धन प्रवर्दन गर्नुको साथै क्षेत्रमा विकास निर्माण, ऐतिहासिक पुरातात्विक महत्वका सम्पदा संरक्षण गर्दै आएको छ भने युवा तथा महिलाहरुको शिप बिकासका साथै शिक्षा स्वास्थ्य लगायत विभिन्न सामाजिक अभियानहरु र जनचेतनामूलक कार्यक्रम गर्दै आइरहेको छ ।