सुरक्षित आवास निर्माण कार्यशाला

सुरक्षित आवास निर्माण कार्यशाला

सिप नेपालको आयोजनामा आइतवार नयाँपाटीमा सिकर्मी डकर्मी र सुरक्षित आवास निर्माण शिक्षा कार्यक्रमको उद्घाटन तथा कार्यशाला सम्पन्न भएको छ । कार्यक्रममा भूकम्प प्रविधी राष्ट्रिय समाज नेपालका कार्यक्रम ब्यवस्थापक सुर्यभक्त साङ्गार्छे, सिनियर इन्जिनियर प्रदिप थापा, ट्रेनिङ सेन्टर नेपालका इन्जिनियर रामेश्वर गजुरेल र सहरी विकास तथा भवन निर्माण विभागका इन्जिनियरिङ विभाग प्रमुख परिक्षित कडरिया लगायतले भवन निर्माण आचार संहिता, सुरक्षित आवास निर्माण र दक्ष कामदार उत्पादनमा सिकर्मी डकर्मी तालिमको आवश्यकताको बारेमा कार्यपत्र प्रस्तुती गरेका थिए ।

1
कार्यक्रममा काठमाडौं ३ का सभासद् रामेश्वर फुयालले भूकम्पका कारण देशमा भौतिक संरचनाको ठूलो क्षति भएकाले अव सुरक्षित आवास निर्माणमा जोड दिनु पर्ने बताउनु भयो । “अव कडाइका साथ भवन निर्माण आचार संहिताको पालना गर्नुपर्छ” उहाँले भन्नुभयो । सुरक्षित आवास निर्माणका लागि दक्ष निर्माण मजदुरको उत्पादन र प्रयोग आवश्यक रहेकोमा उहाँले जोड दिनु भयो । उहाँले बेरोजगारी समस्या समाधान गर्न युवाहरुलाई दक्ष बनाउँदै सबैखाले कामलाई सम्मान गर्ने सँस्कृतिको विकास गर्नुपर्ने धारणा राख्नुभयो । “शारिरीक श्रम र मानसिक श्रम दुवैलाई उत्तिकै सम्मान गर्नुपर्छ, त्यसो भयो भने मात्रै नयाँ पुस्तालाई सिकर्मी डकर्मी पेशामा आकर्षण पैदा गर्न सकिन्छ ।” उहाँले भन्नुभयो ।
साविक नयाँपाटी गा.वि.स अध्यक्ष उद्धब खड्काले भूकम्पले क्षत विक्षत बनाएको अवस्थामा अव कसरी जनतालाई सुरक्षि आवास निर्माणमा प्रोत्साहन गर्न कार्यक्रम फलदायी रहेको बताउनु भयो । ग्रामिण क्षेत्रका कच्ची घरहरु सबै ढलेकाले अव पक्की घर निर्माणमा लाग्नु पर्नेमा जोड दिनु भयो । “सुरक्षित आवास निर्माणका लागि प्रोत्साहन गर्न राज्यले जनतालई अनुदान र सहज ऋण उपलब्ध गराउनुपर्छ ।” उहाँले भन्नु भयो । जनचेतना अभिबृद्धि गर्न यस्ता कार्यक्रम महत्वपूर्ण हुने भएकाले लक्षित वर्गमै पुगेर कार्यक्रम संचालन गरेकोमा संस्थालाई धन्यवाद दिनु भयो । नेकपा एमाले काठमाडौं ३ का अध्यक्ष समेत रहेका खड्काले पार्टीको १ महिने अभियानमा जनताको सुखदुखमा साथ दिएको अनुभव सुनाए ।
संस्थाका अध्यक्ष मोहन गौतमले भूकम्पका कारण देशमा हजारौ मानिशहरुको मृत्यु हुनमा अव्यवस्थित र कमजोर संरचना नै मुख्य कारण रहेकाले अभियानको सुरु गरेको बताउनुभयो । “अव हामीले यसबाट पाठ सिकेर कडाइका साथ आचास संहिता को पालना गर्दै सुरक्षित आवास निर्माणमा जोड दिन आवश्यक छ,” उहाँले भन्नुभयो । उहाँले देशमा यस क्षेत्रमा काम गर्ने प्राविधिक जनशक्ति निर्माण गरी अदक्ष र अर्धदक्ष कामदारलाई दक्ष बनाउनु कार्यक्रमको अर्को महत्वपूर्ण पाटो रहेको प्रष्ट्याउनु भयो । संस्थाले ५ दिन सम्म कार्यक्रम संचालन गर्दे छ । उहाँले संस्थाले सुरक्षित आवास निर्माणमा जोड दिन अभियानलाई दिर्घकालिन बनाउने उद्धेश्य राखेको पनि बताउनु भयो । जसका लागि अन्यौलपूर्ण वातावरणमा रहेका शिक्षित र अशिक्षित वेरोजगार युवायुवती, दलित, जनजाती तथा महिलाहरुलाई सुरक्षित आवाश निर्माणका लागि दक्ष बनाउन ट्रेनिङ सेन्टर नेपालसँग समन्वय गरी केही दिनमा नै ३ महिने सिकर्मी डकर्मी तालिम संचालन गर्न लागिएको बताउनु भयो । कार्यक्रम संचालनमा सभासद् रामेश्वर फुयालले निर्वाचन क्षेत्र विकास कार्यक्रमको सहयोगमा सुरु गरिएको हो ।
कार्यक्रममा ११० जनाको सहभागीता रहेको थियो । सहभागीहरु उत्सुकताका साथ कार्यक्रममा सहभागी भएका थिए ।

तपाइँको प्रतिक्रिया ।