बाल विकास समाजको ३२ औ वार्षिकोत्सव सम्पन्न
कपन अनलाइन
काठमाण्डौ ,जेठ १।
बालबालिकाको समग्र विकासका लागि अनवरत रुपमा काम गरिरहेको संस्था बाल विकास समाजले विशेष कार्यक्रमका साथ ३२ औं वार्षिकोत्सव मनाएको छ ।
बालबालिकाका क्षेत्रमा केही गरौं भन्ने भावना भएका समाजसेवीहरुको पहलमा ३२ वर्षअघि स्थापना भएको संस्थाले बालसमृद्धिको लागि विभिन्न कार्यक्रमहरु सञ्चालन गरिरहेको हो ।
महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयका माननीय मन्त्री सुरेन्द्र राज आचार्यको प्रमुख अतिथ्यतामा सम्पन्न भएको समारोहमा संस्थाले १७ जना अपाङ्ग बालबालिकालाई ह्वीलचियर पनि वितरण गरेको थियो । संस्थाले बालसमृद्धिका लागि वर्षभरी सञ्चालन गरेका विभिन्न कार्यक्रमहरुको झलक प्रस्तुतीसहित संस्थाका संस्थापक पदाधिकारी कार्यक्रमका प्रमुखअतिथि साथै अन्य विशिष्ठ पाहुनाहरुसँग बालबालिकाहरुलाई प्रत्यक्ष रुपमा साक्षात्कारसमेत गर्ने अवसर जुराएको थियो ।
फरक क्षमता भएका बालबालिकाको नृत्युसहित सञ्चालन कार्यक्रममा बालबालिकाले बालअधिकारको व्यवहारिक अनुभूत गर्ने वातावरण निर्माणको सवालमा सरकार र नागरिक समाजको भूमिकाका विषयमा प्रश्न गरेका थिए ।
कार्यक्रममा शुभकामना मन्तव्य राख्दै माननीय मन्त्री सरेन्द्रराज आचार्यले बालअधिकार सुनिश्चित गर्न सरकार सधै प्रतिवद्ध रहेको बताउदै बालबालिकाको समृद्धिका लागि विभिन्न नीति ऐनहरु बनेका पछिल्लो समय बालअधिकारको अभियान व्यापकरुपमा अगाडी बढेको भन्दै सरकारद्धारा निर्मित दिगो विकास लक्ष्यदेखि बालअधिकार नीति ऐनलाई सशक्त कार्यान्वयन गर्नका लागि नागरिक समाज बाल विकास समाजजस्ता संघ संस्थाहरुको भूमिका महत्वपूर्ण रहेको कुरा उल्लेख गरेका थिए ।
विषेश गरी संस्थाको काम देखेर आफू निकै उत्साहित भएको र बालबालिकासँग प्रत्यक्ष रुपमा साक्षत्कार गर्ने अवसर बाल विकास समाजले जुराएकोप्रति मन्त्री आचार्यले धन्यवाद व्यक्त गर्नु भयो । आफैले भर्खरै मात्र बालबालिका मन्त्रालय सम्हालेको र बालबालिका सम्बन्धी कार्ययोजनाको अध्ययन गरिरहेको हुनाले आगामी दिनमा बालबालिका लागि देखिने अनुभूत हुने किसिमका सबैसँग सहकार्य गर्दै काम गर्न आफू तयार रहेको प्रतिवद्धतासमेत मन्त्रीले व्यक्त गर्नु भयो ।
कार्यक्रमा विशेष अतिथिको रुपमा सहभागी बूढानीलकण्ठ नगरपालिकाका नगर प्रमुख मिठाराम अधिकारीले बाल विकास समाजले बालसमृद्धिका लागि गरेका कामप्रति नगरपालिकाले सधै गौरव गर्ने र बालमैत्री नगर अभियानमा सँगसगै अगाडी जाने कुरा बताउदै संस्थाले बालबालिकाको विकासमा अझ सशक्त रुपमा सँगै काम गरोस भन्ने शुभ कामनासमेत व्यक्त गरेका थिए ।
बाल विकास समाजले गरेका कामप्रति आफू निकै खुशी भएको भन्दै आज विशेषगरी प्रत्यक्ष रुपमा अपाङ्ग बालबालिकालाई भेटन पाएकोमा संस्थाप्रती आभार प्रकटसमेत गरेका थिए ।
कार्यक्रममा शुभकामना मन्तव्य भन्दा पनि बालबालिकाहरुद्धारा नै तयार पारिएका गीत नृत्य रुपान्तरको सन्देश दिने नाटक लगायतका थुर्पै प्रस्ततीहरु देखाइएको थियो । वार्षिक समारोह कार्यक्रममा संस्थाका संस्थापक पदाधिकारी कार्यसमिति पदाधिकारी, आजीवन सदस्य कर्मचारीहरुको उपस्थितीसहित विभिन्न सरकारी तथा गैरसरकारी निकायहरुका प्रतिनिधिहरुको समेत बाक्लो उपस्थिती रहेको थियो । कार्यक्रमको समापनमा संस्थाका अध्यक्ष सुवास गौतमले बाल विकास समाज बालअधिकार सुनिश्चित गर्ने अभियानमा हिजो पनि थियो आज पनि छ र भोलीपनि निरन्तर रहने कुरा उल्लेख गर्दै सहभागी सबैलाई विशेष धन्यवाद दिएका थिए ।
अन्त्यमा कार्यक्रममा विभिन्न कला प्रस्तुती गर्ने बालबालिकालाई प्रसंसा पत्र वितरण गरी कार्यक्रमको समापन गरिएको थियो ।