खेलकुद क्षेत्रका विवाद अन्त्य गर्छु – सदस्य सचिव विष्ट

खेलकुद क्षेत्रका विवाद अन्त्य गर्छु – सदस्य सचिव विष्ट

काठमाडौँ, १६ असार । राष्ट्रिय खेलकुद परिषद्का नवनियुक्त सदस्य सचिव केशवकुमार विष्टले खेलकुद क्षेत्रमा रहेको विवाद अन्त्य गर्न आफू समन्वयकारी भूमिका खेल्न तयार रहेको बताउनुभएको छ ।

keshab-bista
नेपाल ओलाम्पिक कमिटिले आज सातदोबाटोमा आयोजना गरेको बधाई तथा शुभकामना कार्यक्रममा उहाँले खेलकुद क्षेत्रमा रहेका विवाद अन्त्य नगरेसम्म राम्रो नतिजा नआउने भन्दै त्यसका लागि आफूले समन्वयकारी भूमिका खेल्ने प्रतिबद्धता जनाउनुभयो ।

दुई ओलम्पिक कमिटिको विवाद र खेल सङ्घहरूको आन्तरिक समस्यालाई अन्त्य गर्नुपर्ने बताउँदै उहाँले खेलकुद क्षेत्रमा भ्रष्टाचार र नैतिकहिन कार्य बढिरहेकाले विवादित संस्था र व्यक्तिले खेलकुदको मूल्य मान्यता र खेलाडीको संरक्षण गर्न नसक्ने धारणा राख्नु भयो ।

सदस्य सचिव विष्टले खेलाडीको जीवन बिमाका लागि भर्खरै प्रस्ताव पठाएको जानकारी दिँदै आफ्नो कार्यकाल नेपालको खेल क्षेत्रका लागि स्वर्णकाल हुने दाबीसमेत गर्नुभयो ।

कार्यक्रममा नेपाल ओलम्पिक कमिटीका अध्यक्ष धुब्रबहादुर प्रधानले संसारमा दुईवटा ओलम्पिक कमिटी कहीँ पनि नभएको भन्दै नेपालमा ओलम्पिक विवाद समाधानका लागि प्रयास भइरहेको बताउनुभयो ।

ओलम्पिक कमिटीका महासचिव जीवनराम श्रेष्ठले खेल क्षेत्रलाई स्थिर बनाउने उपयुक्त अवसर यसपटक सिर्जना भएकाले सवैले यसलाई सदुपयोग गर्नुपर्ने उल्लेख गर्नु भयो ।

कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष लामा टेण्डी शेर्पा, ओलम्पिक कमिटीका उपाध्यक्ष उमेशलाल प्रधान, खेल सङ्घका पदाधिकारीलगायतको उपस्थिति थियो ।

तपाइँको प्रतिक्रिया ।