शंखरापुरमा ८ रात ९ दिन सम्म चल्ने बज्रयोगिनी माइको जात्राको तयारी अन्तिम चरणमा
कपन अनलाइन
काठमाडौं चैत्र २१ । शंखरापुर नगरपालिकामा ८ रात ९ दिन सम्म चल्ने बज्रयोगिनी माइको जात्राको तयारी अन्तिम चरणमा पुगेको जात्रा व्यवस्थापन समितिले जानकारी गराएको छ । यस बर्ष उक्त जात्रा चैत्र २३ गते बाट शुरु हुने हुँदा समितिले जात्राको तयारी स्वरुप बिभिन्न चरणमा छलफल भेला गर्नुको साथै बज्रयोगिनी जाने बाटो सरसफाई समेत गरिसकेको समितिले जनाएको छ । जात्रामा प्रयोग हुने खटका लागि आवश्यक बाँसको साथै धुनी जगाउन आवश्यक काठको समेत बन्दोबस्त गरिसकेको जानकारी गराएको छ ।
समितिले चलाखु टोलमा जात्राको लागि र अघि पछि समेत उज्यालो होस् भनि आवश्यक सडक बत्तिको व्यवस्था गरिसकेको छ ।त्यसै गरि सुरक्षालाइ मध्यनजर गर्दै आवश्यक स्थानमा सिसि क्यामेरा समेत जडान समेत गरिएको छ भने प्रहरी संग समेत समन्वय गरेको जानकारी गराएको छ ।
हरेक चैते दशै पश्चात लाग्ने यो मेलामा शंखरापुर नगरको उत्तरतिर मणिचुड पर्वतस्थित गुँ विहार (बज्रयोगिनी मन्दिर)बाट बज्रयोगिनीको मुर्तिसँगै चिभा:द्य: (प्राचिन स्वयम्भु चैत्य), सिंहमुखी, बाघमुखी मुर्तिलाई खटमा बोकेर साँखु बस्तीमा ल्याउने गरिन्छ।उपत्यकाभित्र मनाइने विभिन्न जात्रामध्ये यसलाई प्रमुख जात्राको रुपमा हेर्ने गरिन्छ।
हरेक चैते दशै पश्चात लाग्ने यो मेलामा शंखरापुर नगरको उत्तरतिर मणिचुड पर्वतस्थित गुँ विहार (बज्रयोगिनी मन्दिर)बाट बज्रयोगिनीको मुर्तिसँगै चिभा:द्य: (प्राचिन स्वयम्भु चैत्य), सिंहमुखी, बाघमुखी मुर्तिलाई खटमा बोकेर साँखु बस्तीमा ल्याउने गरिन्छ। बज्रयोगिनीको मन्दिरबाट भगवानलाइ खटमा राखी तल साँखु बजारमा ल्याए सङ्गै सो जात्रा सुरु हुन्छ ।पाँच थकाली गुर्जुसहित बज्रयोगिनी देवीलाई दाम, सुपारी र स्वयम्भू चैत्य चढाएर आठ दिनसम्म साँखु बजार घुमाएर तान्त्रिकदेवीको रुपमा रहेकी बज्रयोगिनीको पूजा अर्चाना गरिन्छ । जात्रामा बज्रयोगिनी माइको मन्दिरबाट सुनको जलप लगाएको प्रतिमूर्ति, सिंहिनी, व्याधिनी र स्वयम्भूको गरि चारवटा मूर्ति तल साँखु बजारमा झार्ने प्रचलन छ।
नायखीं बाजा बजाएर नगर परिक्रममा गरेर झ्याली पिट्दै साँखुका ऐतिहासिक आठवटा गाउँको कल्याण होस्, खेतीपाती राम्रो होस् तथा महानगरवासीमा सुखशान्ति मिलोस् भन्दै जात्रा चलाइएको स्थानीय प्रेम प्रकाश प्रजापतिले कपन अनलाइनलाइ जानकारी गराए जात्रा सुरु गर्न नायखीं बाजाएपछि साँखु नगरभित्रका बासिन्दाले छालाका जुत्ता लगाउन, छाता ओढ्न, पुरानो घर भत्काउन, नयाँ बनाउन, ऋण असुल्न, हात्ती घोडा चढ्न नपाउने परम्परा छ ।जात्रा अवधिभर साँखु नगरवासीहरु सबै समान होउन भन्ने उद्देश्य जुत्ता लगाउन, छाता, घोडा ओड्न नपाउने परम्परा सुरु गरिएको प्रजापति बताउँछन् ।
त्यस्तै जात्रा अवधिभर निर्माण कार्य गर्दा दुर्घटना भएर मानिसको मृत्यु सक्ने भएकाले घर बनाउन र भत्काउन नपाइने चलन चलाइएको हो । चार मूर्ति बजारमा झारेपछि ऐतिहासिक साँखु नगरका लप्सेफेदी, पालुबारी, गागल, इन्द्रेयणी र चाँगुलगायत सात गाउँमा चार दिनसम्म खेतीपातीका काम नगर्ने चलन छ ।जात्रा प्रत्येक वर्ष चार टोल सुनटोल, बज्रयोगिनी, पुकुलाछी र चलाखुका स्थानीयवासीले पालैपालो सञ्चालन गर्छन् । यस वर्षको जात्रा चलाउने जिम्मा सुन्टोल को परेको छ ।
बज्रयोगिनी मन्दिरबाट खट उठाएर साँखुका आठ टोलमध्ये चार टोलमा राख्ने गरिन्छ । खट राख्न धुला, चलाखु, इला र सुनटोल गरी चारवटा तोकिएको छ । यस वर्ष सुन्टोल मा खट राख्ने पालो परेको छ ।धुलाटोलमा राख्दा साल्खा, चलाखुटोलमा राख्दा दुगाहिटी, इलाटोलमा राख्दा पुखुलाछी र सुनटोलमा राख्दा इपाटोलको पनि प्रतिनिधित्व हुने गरी राख्ने गरिएको छ ।
सुन्टोलमा ४ दिन राखेपछी बजार परिक्रमा गराइने चलन रहिआएको छ ।उपत्यकाभित्र मनाइने विभिन्न जात्रामध्ये यसलाई प्रमुख जात्राको रुपमा हेर्ने गरिन्छ।राजा संखदेवले कालिगढ संम्बत १८०१ मा संखरापुर बस्ती “हालको साँखु” बसालेको भन्ने इतिहास मान्यता रहेको पाइन्छ । राजा संखदेवले बस्ती बसालिसकेपछी कालिगढ संम्बत १८१८ बाट बज्रयोगिनीको जात्रा सुरुवात भएको मान्यता रहिआएको छ ।
फोटो: द नेवार