मानसिक असर हटाउन राखेपमा ‘पुनर्ताजगी’ कार्यक्रम

काठमाडौँ, १० असार । राष्ट्रिय खेलकुद परिषद् (राखेप) अन्तर्गतको नेपाल खेलकुद विज्ञान प्रतिष्ठानले भूकम्पपछि आफ्ना (राखेपका) पदाधिकारी, कर्मचारी, प्रशिक्षक तथा खेलाडीमा परेको मानसिक नकारात्मक असर कम गर्ने उद्देश्यले ‘पुनर्ताजगी’ कार्यक्रमको आयोजना गरेको छ ।

game_20141014100450

सातदोबाटोस्थित प्रतिष्ठानको सभा भवनमा आज बिहान ७ देखि ९ बजेसम्म उपत्यकाका तीन जिल्लाका करिब २०० सहभागीलाई भारतीय गुरु श्री श्री रविशङ्करको संस्था ‘आर्ट अफ लिभिङ’का प्रतिनिधिहरुले भक्ति सङ्गीतसहित योग, ध्यानलगायतका क्रियाकलाप गराए ।

‘ट्रमा रिलिफ प्रोग्राम’ नाम दिइएको उक्त कार्यक्रमका सङ्योजक तथा परिषद्को खेलकुद विज्ञान प्रतिष्ठानका कार्यकारी निर्देशक डा प्रकाश प्रधानले कार्यक्रमले भूकम्पबाट राखेपका कर्मचारी तथा खेलकर्मीमा परेको मानसिक असर कम गर्न मद्दत पुगेको बताउनुभयो । “दुई घन्टा योग, ध्यान र सुमधुर भक्ति सङ्गीतले दुई घन्टामै मलाई धेरै ‘रिफ्रेस’ भएको महसुस भयो” – उहाँले भन्नुभयो ।

आफू कार्यरत संस्था ‘आर्ट अफ लिभिङ’ले राहत वितरणसँगै भूकम्प प्रभावित १२ जिल्लाका करिब १०२ गाविस तथा नगरपालिकाका विद्यालय, विश्वविद्यालय, सञ्चारगृहका साथै विभिन्न सरकारी कार्यालयमा ‘ट्रमा रिलिफ प्रोग्राम’ गरेको स्रेस्ना बस्नेत ‘सुवर्णा’ले बताउनुभयो । रासस

तपाइँको प्रतिक्रिया ।