गोकर्णेश्वरको कान्तिभैरव मन्दिर परिसरमा निर्माणाधीन भौतिक संरचनाको स्थलगत अवलोकन

गोकर्णेश्वरको कान्तिभैरव मन्दिर परिसरमा निर्माणाधीन भौतिक संरचनाको स्थलगत अवलोकन

कपन अनलाइन

काठमाडौँ, माघ २० । गोकर्णेश्वर नगरपालिका वडा नं ४ स्थित  कान्तिभैरव मन्दिर परिसरमा निर्माण भइरहेको भौतिक संरचनाको बिहीबार स्थलगत अवलोकन गरिएको छ ।  बागमती नदी सुधार परियोजना को अधिकार सम्पन्न बागमती सभ्याता एकीकृत विकास समितिअन्तर्गत गोकर्णेश्वर नगरपालिकाको निमन्त्रणामा एसियाली विकास बैंकसहित विभिन्न दातृ निकायका प्रतिनिधि, जर्मनी, फिनल्यान्ड, स्विटजरल्यान्ड र अस्ट्रेलियाका राजदूतलगायतले उक्त निर्माण कार्यको अवलोकन गरेका हुन् । परियोजना स्थलमा आएका प्रतिनिधिलाई नगरपालिकाका मेयर रिसाल र उपमेयर सान्नानी लामा ,गोकर्णेश्वर नगरपालिका  प्रमुख प्रशासकीय अधिकृत बैकुण्ठ प्रसाद सापकोटा  वडा अध्यक्ष जयराम महत लगायतले  स्वागत गरेका थिए ।

प्रतिनिधिहरुलाई पञ्चकन्याले माला लगाइदिएका थिए भने उनीहरुको स्वागतमा कान्तिभैरव गुरुकुलका विद्यार्थीले वैदिक वेद उच्चारणसमेत गरेका थिए ।परियोजना अन्तर्गत गोकर्णेश्वरको कान्तिभैरव उत्तरबाहिनीसहित गोकर्णेश्वर महादेव मन्दिर परिसर र थापाथलीको कालमोचन घाटदेखि बल्खु पुलसम्म बागमती सुधारका लागि आवश्यक भौतिक संरचना निर्माणको काम भइरहेको छ ।

एसियाली विकास बैंकको ८८.५ प्रतिशत ‘सफ्ट लोन’(१ प्रतिशत ब्याजको ऋण) र नेपाल सरकारको ११.५ प्रतिशत लगानीमा अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समिति अन्तर्गत यो परियोजनाअन्तर्गका भौतिक संरचना निर्माण भइरहेको हो ।उत्तरबाहिनी क्षेत्रमा ११ करोड रुपैयाँ(भ्याटबाहेक)को लगानीमा सन् २०१९ बाट परियोजनाअन्तर्गतका संरचना निर्माणको काम भइरहेको छ ।गोकर्णेश्वर नगरपालिकाका प्रमुख दीपककुमार रिसालले  उत्तरबाहिनी क्षेत्र र गोकर्णेश्वर महादेव मन्दिर क्षेत्रबीच बाँकी रहेको भागमा पनि दायाँबायाँ घाटसहितका भौतिक संरचना  निर्माण र मन्दिर क्षेत्रमा परियोजनाको गुरुयोजना बाहेकका नगरि नहुने निर्माणमा सहयोग गरिदिन एडिबीलाई आग्रह गरेका थिए । यसबारे एडीबी सकारात्मक रहेको जानकारी गराइएको थियो  ।

तपाइँको प्रतिक्रिया ।