प्रथम ललितपुर मेयर कप राष्ट्रिय ब्याडमिन्टन: रशिला र अनु फाईनलमा

कपन अनलाइन

काठमाण्डौ ,मंसिर १०।
नेपाली सेनाका रशिला महर्जन र अनुमाया राई प्रथम ललितपुर मेयर कप राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता २०७९ को फाईनल प्रवेश गरेका छन्।

ललितपुर जिल्ला ब्याडमिन्टन संघको आयोजना तथा नेपाल ब्याडमिन्टन संघको प्राविधिक सहयोगमा भएको प्रतियोगिताको महिला एकल तर्फ उपाधी नजिक पुग्ने क्रममा राष्ट्रिय च्याम्पियन रशिलाले एपिएफकी शोभा गौचनलाई २१–१२, २१–९ ले पराजित गरेकी हुन् । यस्तै अर्को खेलमा सेनाकी अनुले सेनाकै प्राथना देउवामाथी १७–२१, २१–१८, २१–१७ को कठिन जित निकाल्दै उपाधीका लागि रशिला संगको भेट पक्का गरेकी हुन् ।
ललितपुर बालकुमारीस्थित बालकुमारी रिमिक्स क्लबको कभर्डहलमा भएको प्रतियोगिताको पुरुष एकल तर्फ सेमिफाईनल समिकरण पुरा भएको छ । शुक्रबार सम्पन्न क्वाटरफाईनल खेलमा राष्ट्रिय च्याम्पियन पुलिसका प्रिन्स दाहाल सेनाका दिवस शंकरलाई पराजित गर्दै अन्तिम ४ मा स्थान बनाउन सफल भएका छन् ।

दाहालले शंकरलाई २१–१०, २१–१२ ले पराजित गर्दै सेमिफाईनलमा स्थान बनाएका हुन् । यस्तै कास्कीका विधान अधिकारीले एपिएफका देवराज रानामाथी २१–१३, २१–११ को जित निकाल्दै सेमिफाईनलमा प्रिन्स दाहालसंगको भेट पक्का गरेका छन् । अर्को खेलमा सेनाका प्रफुल महर्जन पुलिसका हिरा राई माथी २१–१६ , २१–७ को सहज जित निकाल्दै सेमिफाईनल प्रवेश गरेका छन् । अव प्रफुलले फाईनल प्रवेशका लागि १६ फिदरका क्षितिज खनालको सामना गर्ने छन् । क्षितिजले सेनाका पविन लिनथेपमाथी २१–१२,२१–९ को जित निकाल्दै सेमिफाईनलमा स्थान बनाएका हुन् ।
यस्तै छात्रा यु १७ मा सेनाकी रिहाना शेरचनले सेनाकै समृद्धि श्रेष्ठलाई २१–१५, २१–१० ले पराजित गर्दै फाईनल प्रवेश गरिन् । अर्को खेलमा कैलालीकी रञ्जु राना र ललितपुरकी श्रेया बज्राचार्यविच भएको खेलमा रञ्जुले बाजी मारिन् । उनले १९–२१, २१–१९, २१–१३ को जित निकाल्दै फाईनलमा उपाधीका लागि रिहानासंगको भेट पक्का गरेकी हुन् । यसै गरि छात्र तर्फ सेनाका कवीर के.सी. फाईनल प्रवेश गरे । कवीरले कैलालीका रोशन साउदलाई २१–१९, २१–१७ ले पराजित गर्दै फाईनल यात्रा तय गरेका हुन् । अर्को खेलमा सेनाका अनिल मल्ले जित निकाले । अनिलले शुभकामना युवा क्लबका सनौला रैनीलाई २१–१५, २२–२० को जित निकाल्दै उपाधीका लागि कवीर संगको भेट पक्का गरेका हुन् ।
भेट्रान ४५ बर्ष माथीको प्रतिस्पर्धामा गठ्ठाघर स्पोर्टस् हाउसका डेन लामा र राजेश थापाको जोडी तथा किर्तिपुर ब्याडमिन्टन क्लबका काजी कार्की र राजु महर्जनको जोडी सेमिफाईनल प्रवेश गरेका छन् । यस्तै कास्कीका राजेश गुरुङ्ग र शंभु कुमार श्रेष्ठको जोडी र कालीका ब्याडमिन्टन क्लबका राम के.सी. र हरी खत्रीको जोडीले पनि अन्तिम ४ को यात्रा तय गरे ।
प्रतियोगिताको बाँकी सेमिफाईनल र फाईनल खेल भोली शनिबार बिहान ८ बजे बाट हुने प्रतियोगिता रेफ्रि अनुप रत्न शाक्यले जनाएका छन् ।

 

तपाइँको प्रतिक्रिया ।