जनमत पार्टीको घोषणा पत्र सार्वजनिक, भ्रष्टाचार निर्मुलदेखि राइट टु रिजेक्टसम्म 

जनमत पार्टीको घोषणा पत्र सार्वजनिक, भ्रष्टाचार निर्मुलदेखि राइट टु रिजेक्टसम्म 

कपन अनलाइन
काठमाडौं,  कात्तिक १६  । आसन्न मंसिर ४ गते हुने निर्वाचनका लागि मधेशबाट राजनीतिक यात्रा सुरु गरेको डा.सिके राउत नेतृत्वको जनमत पार्टीले घोषणापत्र सार्वजनिक गरेको छ।
आज (मंगलबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर घोषणापत्र सार्वजनिक गरेको हो ।
आम निर्वाचनमा पहिलो पटक पार्टी सहभागी हुने जनाइएको हो । पार्टीको चुनाव चिन्ह्र होरन(लाउडस्पीकर) रहेको छ । पार्टीले प्रत्यक्ष कार्यकारी हुने नीति अपनाएको समेत पनि जनाइएको छ ।
भ्रष्टाचार निर्मूलिकरण, सुशासन र सेवा–प्रवाह जनभावना अनुरुप बनाउने मुख्य उद्देश्यसहित जनमत पार्टी चुनावमा सहभागी हुने जारी घोषणापत्रमा उल्लेख गरिएको छ ।
भ्रष्टाचारको अन्त्य, राइट टु रिकल, राइट टु रिजेक्ट सहितको एजेण्डा लिएर सूचनाको हक अधिकार प्रभावकारी ढंगले संस्थागत गर्ने पार्टीले प्रतिवद्धता गरेको छ ।
त्यस्तै, कक्षा १२ सम्म निःशुल्क शिक्षा, युनिभर्सल हेल्थ केयर, एकीकृत सामाजिक सुरक्षा, योग्य जनशक्ति उत्पादन गरि समाजवादसहित लोक कल्याणकारी राज्यको स्थापना गर्ने मुख्य लक्ष्य लिएको घोषणापत्रमा उल्लेख छ । साथै, पार्टीले नागरिकता समस्याको स्थायी समाधान गर्ने, अनिवार्य २ वर्ष स्वयंसेवक तालिम दिने प्रतिवद्धता समेत गरेको छ।
पत्रकार सम्मेलनमा बोल्दै केन्द्रीय सदस्य तथा प्रतिनिधि सभा सदस्यको समानुपातिक उम्मेदवार विक्रम बमले देश कहाली लाग्दो परिस्थितिमा गुज्रिएको बताएका छन् । देशको अवस्था सुर्धानकै लागि जनमत पार्टीको उदय भएको उनको भनाइ थियो । उनले भने,‘जनमत पार्टी वर्तमान अवस्थाको उपज हो ।’
राजनीतिक दल र पार्टी आफैमा नराम्रो नहुने तर मुलुक सञ्चालन गर्नेले सही तरिकाले गर्न नसकेको कारण सिके राउतको उदय भएको उनले बताए ।
बमले देशको अवस्था बिग्रिएको भन्दै देशमा समृद्ध ल्याउनकै लागि आफ्नो पार्टी पहिलो पटक आम निर्वाचनमा सहभागी हुने जानकारी दिए । हिमाल, पहाड र तराइलाई एकता गर्ने पार्टीको पहिलो लक्ष्य भएको उनले स्पष्ट पारे । उनले शुसासन मुलुकको आवश्यकता रहेको भन्दै सिके राउत देशमा लुकेको हिरा भएको समेत दाबी गरे ।
देशमा भ्रष्टाचारको अन्त्य नभएमा मुलुकको विकास नहुने उनको भनाइ थियो । उनले आफ्नो पार्टीले भ्रष्टाचारको अन्त्यका लागि प्रदेश–२ मा भ्रष्टाचारीलाई कारबाहीको सुरुवात गरेको बताए । उनले अध्यक्ष सिके राउतलाई सरकारले षड्यन्त्र गरे सत्ता उल्टाउने धम्की दिए । उनले भने,‘सिके राउतविरुद्ध राज्यले अझै कुनै पनि षड्यन्त्र गर्छ भने राज्यसत्ता ६ महिनामा उल्टाएर सडकमा ल्याउने चेतावनी दिन्छौ ।’ जनमत पार्टीले सिके राउतजस्ता हजारौं असल व्यक्ति जन्माएर देशमा भएको भ्रष्टाचारको अन्त्य गर्न खोजेको बताए ।
काठमाडौं क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार तथा केन्द्रीय सदस्य ई. हरेन्द्र चौधरीले पार्टीको मुख्य एजेण्डा भ्रष्टाचार नियन्त्रण गरी शुसासन कायम गर्नु रहेको स्पष्ट पारेका छन् । आफ्ना भन्दा पनि राम्रा उम्मेदवारलाई मत दिन सल्लाह दिँदै उनले सबै मतदातालाई आफू र आफ्नो पार्टीका उम्मेदवारलाई मतदान गर्न आग्रह गरे । उनले आसन्न निर्वाचनका लागि आफ्नो पार्टीले कसैसँग पनि गठबन्धन नगरेको समेत स्पष्ट पारे । काठमाडौंमा खानेपानीको समस्या रहेको उल्लेख गर्दै उनले आफू निर्वाचित भएमा पानीको समस्या सधैको लागि अन्त्य गर्ने बताए ।
गोबिन्द नेपालले आगामी निर्वाचनमा आफ्नो पार्टीलाई मत दिन सबैलाई आग्रह गरे ।
बाग्मती प्रदेश समानुपातिक उम्मेदवार रिता अर्यालले जनमत पार्टीलाई अमुल्य मत दिएर जिताउन आग्रह गरिन् ।
कार्यक्रममा उम्मेदवारहरु रजनी मल्ली, गणेश पुडासैनी, शान्तबहादुर शाक्यलगायतले आफू र आफ्नो पार्टीलाई मत दिन आग्रह गरेका थिए ।

तपाइँको प्रतिक्रिया ।