रामेश्वर फुँयाल र बिमल ठकुरी दोश्रो पटक चुनावी मैदानमा ,यसपटक कसले मार्ला बाजी ?
कपन अनलाइन
काठमाण्डौ ,असोज २७।
काठमाण्डौ क्षेत्र नं ३ (२ ) को प्रदेस सभा निर्वाचनमा रामेश्वर फुँयाल र बिमल ठकुरी दोश्रो पटक चुनावी मैदानमा आमने सामने भएका छन। मंगसिर ४ गते हुने बागमती प्रदेस सभा सदस्यका लागि फुँयाल नेकपा एमाले र ठकुरी नेपाली कांग्रेसबाट उम्मेदवार बनेका हुन्।
२०७४ सालको प्रदेस सभामा निर्वाचनमा प्रतिस्पर्धी रहेका फुँयाल एमालेका पोलिटब्युरो सदस्य हुन् भने ठकुरी नेपाली कांग्रेस काठमाण्डौ क्षेत्र नं ३ (२ ) का सभापति हुन्।
२०७४ सालको निर्वाचनमा यस प्रदेस सभा क्षेत्रमा नेकपा एमालेका फुँयाल १०,८८६ मत सहित विजयी बनेका थिए भने उनका निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका ठकुरीले १०,८१९ मत प्राप्त गरेका थिए ।
गोकर्णेश्वर नगरपालिकाका ७ वडा र कागेश्वरी मनोहरा नगरपालिकाका ३ वडा रहेको काठमाण्डौ क्षेत्र नं ३ (२ ) का ७ वडामा नेकपा एमालेका अध्यक्ष रहेका छन भने २ वटा वडामा नेपाली कांग्रेसका वडा अध्यक्ष रहेका छन। एक वडामा स्वतन्त्र उम्मेदवार विजयी भएका छन ।
२०७९ सालको स्थानीय तहको निर्वाचनमा काठमाण्डौ क्षेत्र नं ३ (२ ) मा नेकपा एमालेबाट निर्वाचित भएका वडा अध्यक्षहरुले प्राप्त गरेको कुल मत १११४७ रहेको छ भने नेपाली कांग्रेसका वडा अध्यक्ष उम्मेदवारहरुले प्राप्त गरेको कुल मत ९४५४ रहेको छ । निर्वाचन आयोगको मत परिणाम अनुसार यस क्षेत्रमा नेकपा एमाले १६५३ मतले अगाडी रहेको छ।
काठमाण्डौ क्षेत्र नं ३ (२ ) मा नेकपा माओवादी केन्द्रका वडा अध्यक्ष उम्मेदवारहरुले १७६२ , नेकपा एकीकृत समाजवादीले १०२४ र राप्रपाका वडा अध्यक्ष उम्मेदवारहरुले १३१४ मत प्राप्त गरेका छन ।