शंखरापुर नगरपालिकामा आर्थिक बर्ष २०७८/७९को  वार्षिक प्रगति समीक्षा कार्यक्रम सम्पन्न

कपन अनलाइन

काठमाडौँ, भाद्र २। शंखरापुर नगरपालिकामा आर्थिक बर्ष २०७८/७९को  वार्षिक प्रगति समीक्षा कार्यक्रम सम्पन्न भएको छ  । मंगलबार  साँखुस्थित भक्ति ब्याम्बो पार्टी प्यालेसमा आयोजित उक्त कार्यक्रमको नगर प्रमुख  रमेश नापित र उप प्रमुख समिता श्रेष्ठले पानसमा दिप प्रज्वलन गरि  उद्घाटन गरेका थिए ।कार्यक्रममा वडा नंबर १ देखि ९ सम्मका वडा सचिवहरूले वडागत वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए भने नगरपालिका अन्तर्गत रहेका स्वास्थ्य केन्द्रले प्रगति विवरणका साथै समस्याहरू प्रस्तुत गरेका छन् ।कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत रमेश गौतम, नगरप्रवक्ता राधाकृष्ण श्रेष्ठ, नगरपालिकाका कर्मचारीहरू वडा अध्यक्षहरु  सहित नगर कार्यपालिकाका प्रतिनिधि सहभागी भएका  थिए  ।

उक्त कार्यक्रमलाइ सम्बोधन गर्दै नगर प्रमुख रमेश नापितले कर्मचारीहरुलाई चनाखो भएर काम गर्न निर्देशन दिएका थिए  । प्रमुख नापितले आफू भन्दा फरक दलले नगरपालिकामा चुनाव जितेको भन्दै बिकासको काममा अवरोध गर्न खोज्ने, नयाँ विकासका कार्यक्रम आउँन नदिने जस्ता खेल खेल्न लागेको भन्दै कर्मचारीहरुलाई सर्तक हुन आग्रह गरेका हुन्  ।उनले त्यस्ता अवरोध गर्नेहरुलाई चुनौती दिँदै शंखरापुर नगरपालिकामा जनताको सेवा गर्न कसैले रोक्न नसक्ने बताए। समृद्ध नगरपालिका बनाउनुपर्छ भनेर  आफुहरु आएको बताउदै, जनप्रतिनिधि, कर्मचारी, जनता एकजुट भएर हाम्रो समृद्धिको सपनालाई साकार पारेरै छाड्ने बताउदै त्यसमा सबैको सहयोग आवश्यक रहेको बताए । उनले हालै आफ्नो पहलमा शंखरापुर नगरपालिकाका किसानका लागि रायायनिक मलको कोटा उल्लेखनीय रुपमा बढाएको बताउँदै स्वास्थ्य सेवा प्रभावकारी रुपमा दिँदै गाउँघर स्वास्थ्य कार्यक्रम सञ्चालन गर्न लागेको जानकारी दिए ।

कार्यक्रमलाइ सम्बोधन गर्दै नगर प्रवक्ता राधाकृष्ण श्रेष्ठले शंखरापुर नगरपालिकालाई समृद्ध बनाउका लागि जनप्रतिनिधि र कर्मचारी एकै रथका दुई पाङ्ग्राको रुपमा रहेको बताएका छन । उनले विकासका लागि कर्मचारी र जनप्रतिनिधिको सम्बन्ध नङ् र मासुको जस्तै रहेको बताए ।प्रवक्ता श्रेष्ठले गत आर्थिक बर्षको समिक्षा गर्ने क्रममा सबै कर्मचारीहरुले पावर पोइन्ट मार्फत प्रस्तुतीकरण गरेकोमा धन्यवाद ज्ञापन गर्दै नगरपालिकाका कर्मचारीहरु अघिल्ला बर्षहरुको तुलनामा स्मार्ट बन्दै गएको उल्लेख गरे ।उनले यस बर्षका लागि तयार पारिएको नीति कार्यक्रम नगरप्रमुखको मात्र नभएर सबै जनप्रतिनिधिहरु र कर्मचारीहरुको भएको उल्लेख गर्दै त्यसलाई सफल पार्न सबैको भूमिका उल्लेख्य हुने बिश्वास ब्यक्त गरेका थिए  ।जनताको सेवाका लागि कर्मचारी र जनप्रतिनिधिहरु अत्यन्तै संवेदनशील भएर काम गर्नुपर्ने बताउँदै  जनताका समस्या समाधान गर्न तत्पर रहनुपर्ने बताएका थिए  ।

तपाइँको प्रतिक्रिया ।