बुढानिलकण्ठका ९४ परिवारले पाए राहत
काठमाडौं । विनाशकारी भूकम्पबाट पीडित बनेका बुढानिलकण्ठ नगरपालिका क्षेत्रका तीन वटा वडामा नगरपालिकाले राहत वितरण गरेको छ । नगरपालिकाले वडा नं. ९, १० र ११ का भूकम्पपीडितहरुलाई आइतबार र सोमबार गरी ९४ घरपरिवारलाई राहत वितरण गरेको हो । नगरपालिकाका वडा नं. ९, १० र ११ का संयुक्त वडा सचिव राजेन्द्र रोक्का क्षत्रीले ती क्षेत्रका भूकम्पपीडितहरुलाई राहत वितरण गरेका हुन् ।
राहत पाउनेहरुमा वडा नं. ९ का ३८, १० का १८ र ११ का ३८ परिवारले राहत पाएका हुन् । सरकारबाट प्राप्त प्रति घरपरिवारलाई दिदै आइएको १५ हजार रुपैयाँ वडासचिव क्षत्रीले पीडितहरुलाई वितरण गरेका हुन् ।
सो क्षेत्रमा दुई सय तीन घर पूर्ण रुपमा क्षति भएको निवेदन वडामा परेको थियो । वडाले स्थलगत निरिक्षण गरी ९४ घरपरिवारलाई पीडितको सुचीमा राखेर राहत वितरण गरेको वडा सचिव क्षत्री जानकारी दिए । सो क्षेत्रमा भूकम्पबाट चार जनाको मृत्यु भएको थियो ।