न्यू डायमन्डलाई महिला भलिबल उपाधि

न्यू डायमन्डलाई महिला भलिबल उपाधि

कपन अनलाइन

काठमाडौं, असार १२ । आयोजक न्यू डायमन्ड एकेडेमीले प्रथम चन्द्रागिरी न्यू डायमन्ड महिला भलिबल प्रतियोगिताको उपाधि जितेको छ । परोपकार आदर्श माध्यमिक विद्यालयमाथि ३–० को सोझो सेटमा पराजित गर्दै उपाधि जित्न सफल भएको हो ।

चन्द्रागिरी नगरपालिकास्थित न्यू डायमन्ड एकेडेमीको भलिबल कोर्टमा शनिबार भएको फाइनलमा डायमन्डले २५–१५, २५–१२ र २१ को सोझो सेटमा जित निकाल्न सफल भयो । प्रतियोगितामा न्ष्ू डायमन्ड अपराजित रहेर च्याम्पियन बन्न सफल भयो । न्यू डायमन्डले पहिलो र दोस्रो सेटमा सहज जित निकाल्न सफल भएपनि तेस्रो सेटमा चुनौतीको सामना गर्नुपरेको थियो ।

ज्ञान सुधा एकेडेमीले ब्राइट होराइजन चिल्ड्रेन होमलाई २५–१४, २५–१३ र २५–५ को सोझो सेटमा पराजित गर्दै तेस्रो स्थान हासिल गरेको छ । उपाधिसँगै न्यू डायमन्डले ५० हजार रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । दोस्रो भएको परोपकारले २५ हजार र तेस्रो भएको ज्ञान सुधा एकेडेमीले १५ हजार रुपैया, शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । चौथो भएको ब्राइट होराइजनले १० हजार रुपैयाँ, शिल्ड र प्रमाण पत्र प्राप्त गरेको छ । न्यू डायमन्डकी प्रगतिनाथ सर्वाेत्कृष्ट खेलाडी चुनिइन् । उनले ३ हजार रुपैयाँसहित शिल्ड हात पारिन् । न्यू डायमन्डकी सलिना बुढा मगर उत्कृष्ट स्पाइक, डायमन्डकै ननशा महरा ब्लकर, परोपकारकी रोशनी कार्की सेटर, परापकारकै रुजिता दर्जी सर्भर, न्यू डायमन्डकी एन्जिला प्रधान लिवेरो र न्यू डायमन्डकै कुमार राई उत्कृष्ट प्रशिक्षक चुनिए । व्यक्तिगत विधाका सबै उत्कृष्टले समान १ हजार र शिल्ड हात पारेका छन् ।

विजयी टोली तथा खेलाडीलाई चन्द्रागिरी नगरपालिकाका मेयर घनश्याम गिरी, उपमेयर बसन्ती श्रेष्ठ, चन्द्रागिरी नगरपालिकाका विभिन्न वडाका अध्यक्ष, न्यू डायमन्ड स्पोर्ट्स क्लबका अध्यक्ष सुनकेशरी माली लगायतले पुरस्कृत गरे । गत बुधबारदेखि राउन्ड रोविन लिगको आधारमा शुरु भएको प्रतियोगितामा चार विद्यालयको सहभागिता रहेको थियो । यू डायमन्ड स्पोर्ट्स क्लबको आयोजना तथा चन्द्रागिरी नगरपालिकाको मुख्य प्रायोजनमा भएको प्रतियोगितामा न्यू डायमन्डसहित परोपकार आदर्श मावि, ज्ञान सुधा एकेडेमी र ब्राइट होराइजन चिल्ड्रेन होम गरी चार टोलीको सहभागिता रहेको थियो ।

तपाइँको प्रतिक्रिया ।