आज रातो मछिन्द्रनाथको भोटो देखाइँदै
कपन अनलाइन
काठमाडौं जेठ २१ । वर्षा र सहकालका देवता रातो मछिन्द्रनाथको भोटो आज देखाइदै छ। एक महिनाअगाडिबाट सुरु भएको जात्रा ललितपुरको विभिन्न ठाउँ हुँदै जावलाखेलमा आएर सकिन्छ। आज देशका राष्ट्रप्रमुखले हेर्न आउने चलन छ।मछिन्द्रनाथको जात्राका लागि बुङ्गमतीबाट देवतालाई पाटन ल्याइन्छ । यहाँ ल्याएपछि रथ निर्माण, रथारोहण र रथ यात्रा हुँदै आएको छ । तिथिका आधारमा रथलाई पाटनका विभिन्न स्थानमा परिक्रमा गराइन्छ ।ललितपुरको थटीटोलबाट रातो मच्छिन्द्रनाथको रथ तानेर जावलाखेल पुर्याइएको चौथो दिन आज भोटो जात्राको साइत जुरेको हो ।पुल्चोकबाट तान्न शुरु गरिएको रातो मच्छिन्द्रनाथको रथ विभिन्न भाग परिक्रमा गरी थटिचोक लगनखेलबाट तानेर बिहीबार जावलाखेल पुर्याइएको थियो।
मच्छिन्द्रनाथको भोटो देखाउने जात्रालाई स्थानीय भाषामा जावलाख्य जात्रा भनिन्छ। जावलाखेलमा रथ पुगेपछि छवासकामुनी पिठमा भात छर्न ल्याउने चलन छ। जा ह्वला ख्य भनेको भात छर्ने मैदान हो। जुन अपभ्रंस भई जावलाखेल हुन गएको हो।
विभिन्न बहुमुल्य रत्न जडित भोटोलाई बिमान खटको चारै कुनाबाट देखाउने परम्परा छ। मच्छिन्द्रनाथको भोटो देबलोक मत्र्यलोक मनुष्यलोक र नागलोकलाई चारै कुनाबाट भोटो देखाउने गरिएको हो। यो भोटो उपत्यकामा मच्छिन्द्रनाथ भित्रयाउने बन्धुदत्त बज्राचार्य, ललितज्यापु, राजा नरेन्द्रदेब लगायत कर्कोटक नागराजलाई पनि देखाउने परम्परा छ। रथबाट चारै दिशामा तीन पटक भोटो देखाउने र देखाइसकेपछि सबैकै सामुन्ने थैलीमा राखी सिलबन्दी गर्ने परम्परा छ। फेरि भोटो एक वर्ष पछि त्यही परम्परा अनुसार देखाइन्छ।हरेक वर्ष भोटो देखाउने दिन सरकारले काठमाडौं उपत्यकामा सार्वजनिक विदा दिने गरेको छ।
फाइल फोटो : सामाजिक संजाल