कागेश्वरी मनोहरा नगरपालिका -३ मा नवनिर्मित भद्रबास स्वास्थ्य चौकीको उद्घाटन
कपन अनलाइन
काठमाडौं,चैत्र २४ । कागेश्वरी मनोहरा नगरपालिका वडा नं ३ भद्रबासमा नवनिर्मित भद्रबास स्वास्थ्य चौकीको उद्घाटन गरिएको छ ।नगरपालिकाको आर्थिक सहयोग करिब १करोड ४४ लाखको लागतमा निर्मित साँढे दुइ तल्ले भवनको आज एक कार्यक्रमका बीच प्रमुख अतिथि नगर प्रमुख कृष्णहरि थापाले उद्घाटन गरेका हुन ।
कागेश्वरी मनोहरा नगरपालिका वडा नं ३ का वडा अध्यक्ष राममणि पुडासैनीको अध्यक्षताको सम्पन्न उक्त कार्यक्रममा बिशेष अतिथिको रुपमा नगर उप प्रमुख बिन्दु पुडासैनी सिंखडा, प्रमुख प्रशासकीय अधिकृत भोजराज घिमिरे, नगरपालिकाका प्रवक्ता एबम वडा नं ५ का वडा अध्यक्ष राजाराम पुडासैनी, वडा नं ३ का वडा सदस्य सुनकुमार नगरकोटी, शिक्षा शाखा प्रमुख सीता नेपाल, कार्यपालिका सदस्य रीता पुडासैनी,नगर सदस्य कविता सुनार, स्वास्थ्य शाखा प्रमुख कुमार सिंह दानी,लेखा शाखा प्रमुख बालकृष्ण दाहाल, पुर्व गाबिस अध्यक्ष समाजसेवी बिष्णुदेबी पुडासैनी,नेपाली कांग्रेस कागेश्वरी ३ का इकाई सभापति कुमार बिक्रम थापा लगायत स्वास्थ्य कर्मी स्वास्थ्य स्वयं सेविका र स्थानीयको उपस्थिति रहेको कार्यक्रम संचालन नगरपालिकाको स्वास्थ्य फोकल पर्सन लक्ष्मी कोइरालाले गरेकी थिइन ।
वडा सदस्य सुनकुमार नगरकोटीले स्वागत मन्तब्य सहित कार्यक्रमको उदेश्य माथि प्रकाश पारेको कार्यक्रममा पुर्व गाबिस अध्यक्ष बिष्णुदेबी पुडासैनी, नगर प्रवक्ता राजाराम पुडासैनी ,उप प्रमुख बिन्दु पुडासैनी सिंखडा लगायतले शुभकामना मन्तब्य राखेका थिए।कार्यक्रममा शुष्मा कोइराला मेमोरियल अस्पतालले एक थान अक्सिजन कन्सनट्रेटर उक्त स्वास्थ्य चौकीलाई हस्तान्तरण गरिएको थियो ।
कार्यक्रममा शुभकामना मन्तब्य राख्दै नगर प्रमुख कृष्णहरि थापाले आयोजकलाइ धन्यवाद दिदै जनताको स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राखेर सुरुका दिनदेखि नै काम गर्दै आएका बताएका थिए । नगरले स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेर काम गरेको बताउदै समुदायस्तरमा महिला स्वास्थ्य स्वयम्सेविकाहरुको भुमिका महत्वपुर्ण भएकाले उनीहरुको योगदानको प्रंशासा गरेका थिए। उनले कोरोना कालमा नगरपालिकाले स्वास्थ्य क्षेत्रमा उलेख्य काम गरेको स्मरण गर्दै नगरपालिकाले मुलपानीमा आफ्नै नगर अस्पताल २४ सै घण्टा संचालन समेत गर्न सकेको जानकारी गराएका थिए।