गोकर्णेश्वर ४ मा प्रभातफेरी गरि राष्ट्रिय सहकारी दिवस मनाइयो
कपन अनलाइन
काठमाडौँ, चैत्र २० । आज ६५ औं राष्ट्रिय सहकारी दिवस मुलुकभर विभिन्न कार्यक्रम गरी मनाइदैछ । सहकारी अभियानको सम्भवतः सबैभन्दा ठूलो पर्वका अवसरमा देशभर नै प्रारम्भिकदेखि केन्द्रीय निकायका साथै सहकारी विभागले आज विभिन्न कार्यक्रम आयोजना गरेका छन् भने केहीले साताव्यापी रुपमा मनाउने घोषणासहित गतिविधिहरु सुरु गरिसकेका छन् । गोकर्णेश्वर नगरपालिका वडा नं ४ ले पनि ६५ औं राष्ट्रिय सहकारी दिवसको अवसरपारेर वडा नं ४ भित्र संचालित सहकारीहरुले प्रभातफेरीको आयोजना गरेको छ । आज बिहान गोकर्णेश्वरको माकलबारी बाट शुरु भएको प्रभात फेरी कार्यक्रम ऐतिहासिक देशे गाउ परिक्रमा गरि गोकर्ण हनुमान चोक हुदै उत्तरबाहिनी गोकर्ण माविमा पुगेर समापन भएको हो ।
कार्यक्रममा गोकर्णेश्वर नगरपालिका वडा नं ४ भित्र संचालित उत्तरबाहिनी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड, पासा ग्वाहली बचत तथा ऋण सहकारी संस्था लिमिटेड, श्री गोकर्ण साकोस , जय श्री भैरब साकोस, महिला सामुहिक कृषक समूह,सोसियल सान साकोस,गृह श्रमिक महिला सहकारी संस्था लिमिटेड, ग्राण्ड भिजन बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड, एकीकृत नमुना साकोस माकलबारी साकोस, गोकर्ण साकोस, उन्नत पशुपंक्षीपालक सहकारी संस्था लिमिटेड ,यज्ञश्वरी बचत तथा ऋण सहकारी संस्था लिमिटेड, जागेश्वर साकोस, लोकतान्त्रिक मिनिट्रक व्यवसायी साकोस, चिनारी साकोस र संजाल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका अध्यक्ष तथा प्रतिनिधिहरूको साथै वडा अध्यक्ष श्रीकुमार श्रेष्ठ, वडा सचिब नवराज सेन सहित कर्मचारी र स्थानीयको उपस्थिति रहेको थियो ।
बिगतका बर्षमा कोभिड १९ को विषम परिस्थितिका कारण सिर्जित प्रतिबन्धात्मक अवस्थाले भौतिक रुपमा राष्ट्रिय सहकारी दिवसका कार्यक्रमहरु हुन सकेका थिएनन । कोभिडको संक्रमण दरघट्दै जानु र खोप समेत लगाईसकेको हुँदा यस बर्ष भने राष्ट्रिय सहकारी दिवसमा गोकर्णेश्वर नगरपालिका वडा नं ४ भित्र रहेका १७ वटा सहकारी संस्थाले सामुहिक रुपमा प्रभातफेरीको आयोजना गरि सहकारी दिवस मनाएका हुन।आज भन्दा ६५ वर्ष अघि अर्थात् २०१३ सालमा आजकै दिन चितवनको शारदानगरमा नेपालको पहिलो सहकारीका रुपमा बखान ऋण सहकारी समिति स्थापना भएको दिनको सम्झनामा प्रत्येक वर्ष यही दिन राष्ट्रिय सहकारी दिवस मनाउने प्रचलन छ । विकासप्रेमी अगुवा स्वर्गीय बखानसिंह गुरुङको संरक्षकत्वमा बखान ऋण सहकारी समिति गठन भएको थियो । सोही कारण गुरुङलाई नेपालको सहकारी अभियानको जन्मदाता, अगुवा, संस्थापक जस्ता उपमाहरुद्वारा सम्मानभाव प्रकट गरिन्छ ।