धर्मश्री बिजेताले दश लाख प्राप्त गर्ने
कपन अनलाइन
काठमाण्डौ ,चैत्र १५।
खेलकुद क्षेत्रमा नेपालकै सवै भन्दा पुरानो संस्था नेपाल ब्यायाम मन्दिरले आयोजना गर्ने १६ औं धर्मश्रीका बिजेताले नगद १० लाख प्राप्त गर्ने भएका छन् । राजधानीस्थित यलो पकोडा होटलमा आयोजित पत्रकार सम्मेलनमा ब्यायाम मन्दिरका अध्यक्ष नारायण प्रधानले उक्त जानकारी गराएका हुन् । खेलकुदको क्षेत्रमा ब्यक्तिगत विधा तर्फको यो नै सर्वाधिक पुरस्कार रासी रहेको पत्रकार सम्मेलनमा जानकारी गराईयो । यस अघिको संस्करणमा पुरस्कार रासी ५ लाख रहेको थियो ।
२०१० मा स्थापित ब्यायाम मन्दिरले संस्थापक एवं सहिद धर्मभक्त माथेमाको सम्मानमा २०४२ साल देखि धर्मश्री प्रतियोगिताको आयोजना गर्दै आईरहेको छ । पहिलो र दोश्रो संस्करणमा तौल समूहको आधारमा प्रतियोगिता गर्दै आईरहेकोमो तेश्रो संस्करणबाट प्रत्येक तौल समूहका बिजयी खेलाडीहरुको अन्तिम प्रतिस्पर्धामा बिजयीलाई धर्मश्री बिजेताको रुपमा पुरस्कृत र सम्मान गर्ने परम्पराको थालनी भएको हो ।
शारिरीक सुगठनको ईतिहासमानै अतिनै प्रतिष्ठित प्रतियोगिता रहेको धर्मश्रीमा १६ औं संस्करणमा नयाँ बिधालाई पनि थप गरिएको छ । जसमा महिला तथा पुरुष फिजिक्स बिधालाई थप गरिएको समेत आयोजित पत्रकार सम्मेलनमा जानकारी गराईयो ।
२०७९ बैशाख २३ र २४ गते कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा आयोजना हुने प्रतियोगिताको ‘प्रि–जजिङ राउन्ड’ वैशाख २३ गते हुनेछ । फाइनल चरणका खेल वैशाख २४ गते हुनेछ । प्रतियोगितामा ५५, ६०, ६५, ७०, ७५, ८० र ८० भन्दामाथि केजीतौल समूहमा ४ सय खेलाडीहरुले प्रतिस्पर्धा गर्नेछन् ।
प्रत्येक बिधामा प्रथम स्थान हासिल गर्ने खेलाडीहरुको विचमा अन्तिम प्रतिस्पर्धा गराई बिजयी हुनेलाई धर्मश्रीको उपाधी सहित सम्मान गरिने छ । प्रतियोगिातको विजेताले १० लाख, उपविजेताले पाँचलाख, तेस्रो हुनेले दुई लाख पुरस्कार पाउनेछन् । यसैगरी प्रतियोगितामा चौथो हुने खेलाडीले एक लाख ५० हजार, पाँचौले एक लाख, छैटौँले ९० हाजार र सातौं हुनेले ८० हजार रुपियाँ पुरस्कार प्राप्त गर्नेछन् ।
प्रत्येक तौल समूहका उपविजेतालाई ४० हजार र तेस्रोलाई २५ हजार रुपियाँ प्रदान गरिनेछ । महिला फिजिक्स तर्फको विजेतालाई दुई लाख, उपविजेतालाई एक लाख र तेस्रो हुनेलाई ५० हजार रुपियाँ पुरस्कार प्रदान गरिने बताईएको छ । प्रतियोगिता सम्पन्न गर्न ९० लाख रुपियाँ खर्च हुने आयोजकले जनाएको छ ।