भक्तपुर जिल्लाकै पहिलो बालमैत्री नगरपालिका बन्यो चाँगुनारायण

भक्तपुर जिल्लाकै पहिलो बालमैत्री नगरपालिका बन्यो चाँगुनारायण

कपन अनलाइन
काठमाण्डौ ,फागुन ३०।

चाँगुनारायण नगरपालिका भक्तपुर जिल्लाकै पहिलो बालमैत्री नगरपालिका घोषणा भएको छ । बालमैत्री नगरपालिका बन्नका लागि ५१ वटा सूचक पूरा गरेको हुनुपर्ने बालमैत्री स्थानीय शासन कार्यान्वयन निर्देशिका २०७८ मा उल्लेख छ ।

संघीय सरकारले जारी गरेको स्थानीय शासन कार्यान्वयन निर्देशिका २०७८ अनुसार नै चाँगुनारायण नगरपालिकाले बालमैत्री नगर बनाउन तिब्र गतीमा काम गरिरहेको थियो । नगरक्षेत्रका बालबालिकाहरु कुनैपनि किसिमको समस्यामा नपरुन भन्ने हेतुले चाँगुनारायण नगरपालिका बालबालिकाको सवालमा निकै संवेदनशिल भएको देखिन्छ ।

राष्ट्रिय सभाका अध्यक्षको प्रमुख अतिथ्यतामा नगरपालिकाले भव्य समारोह गरी बालमैत्री नगर घोषणा गरेको हो । नगरपालिकाका जनप्रतिनिधि, कर्मचारी लगायतको अथक मेहनेत र परिश्रमका कारण बालमैत्री नगर बन्न सफल भएको देखिन्छ । करिब ५ हजार भन्दा बढीको सहभागीतामा घोषणा भएको बालमैत्री नगरको रौनक नै बालबालिकामय भएको थियो ।

नगरक्षेत्रका सबै विद्यालयमा अध्ययन गर्ने बालबालिका तथा विद्यालयबाहिरका बालबालिकाहरु हर्षोल्लासका साथ घोषण समारोहमा उपस्थित भएका देखिन्थे । विभिन्न झाँकी र बाजागाजासहित नगरबासीहरु घोषणा समारोहमा सहभागी भएका थिए । नगरवासी तथा बालबालिकाहरुलाई स्वागत गर्न नगरप्रमुख तथा उपप्रमुख निकै व्यस्त देखिन्थे ।

जिल्लाकै पहिलो बालमैत्री नगर बन्न सफल चाँगुनारायण नगरपालिकाले अन्य नगरपालिकाहरुलाई पनि बालमैत्री बन्नका लागि प्रेरित गरेको कुरा बक्ताहरुले बताए । बालमैत्री नगरपालिका निर्माण अभियानमा प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा सहयोग गर्ने विभिन्न संघ संस्थाहरु तथा अन्य निकायहरुलाई नगरप्रमुखले धन्यवाद दिएका थिए ।

कार्यक्रमका प्रमुख अतिथिले जिल्लाकै पहिलो बालमैत्री नगरपालिका बन्न सफल चाँगुनारयण नगरपालिकालाई बधाइ दिदै बाकी नगरपालिकाहरु पनि यो अभियानमा जुट्नुपर्ने बताए । बालबालिका मुलुकका धरोहर भएकाले उनीहरुमा लगानी गर्न कन्जुस्याइ गर्न नहुने बालमैत्री हेरक घरघरमा अभियान थालनी गर्नु पर्ने कुरासमेत कार्यक्रमका वक्ताहरुले बताए ।

बालमैत्री नगरपालिका घोषणासँगै यसको दिगोपनाका लागि पनि सबै नगरवासिहरुको साथ र सहयोग आवश्यक रहने कुरा कार्यक्रमका वक्ताहरुले बताएका थिए । घोषणसँगै दिगोपनमा थप चुनौती हुन सक्ने कुरामा संकेत गर्दै सबैको साथ र सहयोग भएमा आगामी चुनौतीहरुको सामना गर्दै नगरलाई बालमैत्री घोषणाको दिगोपना गर्न सकिनेप्रति वक्ताहरुले औल्याएका थिए ।

हरेक बालबालिकाहरुले खोप पाएको हुनुपर्ने, गर्भवती महिलाहरुले सेवा सुविधा पाएको हुनुपर्ने बालबालिकाहरुलाई कुनैपनि श्रममा लगाएको हुन नहुने, बालबालिकाहरुले आफ्नो गुनासो तथा उजुरी निर्वाद रुपमा गर्न पाएको हुनुपर्ने लगायतका सूचक पूरा गर्ने काम निकै चुनौतीपूर्ण भए तापनि उक्त कार्य सम्पन्न गर्न नगरपालिका सफल भएको देखिन्छ ।

त्यही सफलताले नै अहिले नगरपालिका बालमैत्री नगरको रुपमा चम्कीएको छ । बालअधिकारमा राम्रो दखल राख्ने नगरप्रमुखको यो अभियानप्रति सबै नगरवासीहरु खुशी भएको कुरा स्थानीयहरुले नै व्यक्त गरेका थिए ।

तपाइँको प्रतिक्रिया ।