चाँगुनारायण नगरपालिका द्धारा इँटा उद्योगमा बालश्रम अनुगमन

चाँगुनारायण नगरपालिका द्धारा इँटा उद्योगमा बालश्रम अनुगमन

कपन अनलाइन 

काठमाडौं फाल्गुन २०।  चाँगुनारायण नगरपालिकाले नगरक्षेत्रमा सञ्चालित इँटा उद्योगहरुमा बालश्रम प्रयोग भए नभएको बारेमा स्थलगत अनुगमन गरेको छ । चाँगुनारायण नगरपालिका बालमैत्री नगरघोषणा गर्ने तयारीमा रहेको छ । बालमैत्री नगरका सूचकहरु एकपछि अर्को गर्दै पूरा गर्ने चरणमा रहेको हुँदा नगरपालिका भक्तपुर जिल्लाकै पहिलो बालमैत्री नगरपालिका चाँगुनारायण नगरपालिका घोषणा हुनेगरी काम अगाडी बढेको पाइन्छ । विशेषगरी चाँगुनारायण नगरपालिकामा करिब ५२÷५३ वटा इँटा उद्योग सञ्चलनमा रहेको तथ्याङक रहेको छ । नगरपालिकाले बाल विकास समाजको सहकार्यमा बालश्रमको स्थलगत अनुगमन गरेको हो ।

अनुगमनमा प्रमुख प्रशासकीय अधिकृतको अगुवाइमा नगरपालिकामा रहेको बालमैत्री शाखा, महिला तथा बालबालिका शाखा शिक्षा शाखा सम्बन्धित वडाका वडा अध्यक्ष नगर तथा वडा स्तरीय बालअधिकार समितिका पदाधिकारी जनप्रतिनिधिहरु लगायत समूह रहेको थियो । अनुगमनको क्रममा बालश्रम प्रयोग गरेको पाइएपछि सोही उद्योगका रोजगार दातालाई तत्काल इँटा उद्योगमा रहेका बालबालिकाहरुलाई विद्यालय भर्ना गर्नका लागि निर्देशन नगरपालिकाको तर्फबाट भएको थियो । अनुगमनको क्रममा बालबालिकाहरुको शिक्षा स्वास्थ्य लगायतको विषयमा पनि उनीहरुका अभिभावकहरुसँग कुराकानी गरिएको थियो । भ्याउलीमा रहेका गर्भवती महिलाहरुको गर्भवती जाँचको विषय तथा उनीहरुको स्वास्थ्य अवस्थाको बारेमा स्थास्थ्य शाखाका प्रतिनिधिहरुले जानकारी लिएका थिए ।

विषेगरी चाँगुनारायण नगरपालिका वडा नंबर २ का वडा अध्यक्षले आफ्नो वडामा रहेका इँटा उद्योगमा बालश्रम प्रयोग हुन नदिनका लागि वडाको तर्फबाट सधै पहल गरिनै रहेको कुरा बताएका थिए । नगरपालिकालाई बालमैत्री नगर घोषणाका लागि वडाका तर्फबाट भरपुर सहयोग गर्ने कुरा राख्दै बालबालिकाहरुको सवालमा वडा समिति सधै सम्वेदनसिल रहेको कुरा पनि बताएका थिए । नगरपालिकाको बालमैत्री नगर घोषणा गर्ने कार्यक्रम तिव्र रुपमा अगाडी बढिरहेको हुनाले यो अनुगमनले घोषणा कार्यक्रमका लागि थप ऊर्जा मिलेको कुरा नगरका प्रमुख प्रशासकीय अधिकृतले बताएका थिए । बालबालिकाहरुको सवालमा सम्वेदनसील भएर काम गरेको हुनाले पनि बालमैत्री नगर घोषणा नजिक पुग्न सकिएको कुरा महिला तथा बालबालिका शाखा प्रमुखको भनाइ रहेको थियो । बालमैत्री नगरपालिकाको घोषणाका लागि नगरपालिकामा रहेका सबै संयन्त्रहरुले आ आफ्नो ठाउबाट तिव्रताका साथ काम गरिरहेको हुनाले रोजगारदाता तथा अन्य सबै सरोकारवाला पक्षहरुको तर्फबाट पनि यो महान अभियानमा हातेमालो गर्नका लागि नगरपालिकाको तर्फबाट प्रमुख प्रशासकीय अधिकृतले सबैमा अनुरोध गरेका थिए ।

तपाइँको प्रतिक्रिया ।