कागेश्वरी मनोहरा नगरपालिकामा राष्ट्रिय परिचयपत्र दर्ता शुरु
कपन अनलाइन
काठमाडौँ, माघ २० । कागेश्वरी मनोहरा नगरपालिकाका प्रमुख कृष्णहरि थापाले नगरपालिका बाट राष्ट्रिय परिचय पत्रको लागि फोटो खिचाएर राष्ट्रिय परिचयपत्र दर्ता कार्यक्रमको शुभारम्भ गरेका छन । सरकारले राष्ट्रिय परिचयपत्र स्थानीय तहबाट वितरण गर्न शुरु गरे संगै काठमाडौँ जिल्लाको ५ वटा नगरपालिका र देशभर अन्य २८ वटा पालिकाहरूबाट यो सेवा शुरु भएको छ ।
यसभन्दा अघि परिचयपत्र जिल्ला प्रशासन कार्यालयबाट मात्र वितरण हुने हुँदा सेवाग्राहीको अत्यधिक भिड रहने गर्दथ्यो । रातभर लाइनमा बस्न बाध्य भएका सेवाग्राहीहरू अब राष्ट्रिय परिचयपत्र बनाउन सास्ती खेप्नु पर्ने झन्झटबाट मुक्त हुने बिश्वास गरिएको छ ।कागेश्वरी मनोहरा नगरपालिकामा २०७८साल माघ १७ गते देखि नेपाली राष्ट्रिय परिचय वितरणको लागि बिवरण प्रविष्ट गर्ने कार्य संचालन भएको हुँदा स्थायी बासिन्दा तथा तत्काल विधुतीय राहदानी बनाउन आवश्यक भएका नागरिकहरुले आवश्यक कागजात सहित कोभिड १९ नियन्त्रण तथा रोकथाम सम्बन्धमा नेपाल सरकारले जारी गरेको सम्पूर्ण स्वास्थ्य मापदण्डहरु अनिवार्य पालना गरि आफ्नो उपस्थिति जनाई बिवरण प्रविष्ट गराउन समेत नगर प्रमुख कृष्णहरि थापाले जानकारी गराएका छन ।सार्वजनिक बिदाको दिन बाहेक कार्यलय खुल्ने दिन कार्यलय समयभित्र नगरपालिकाको प्राबिधिक शाखा भवनमा आवश्यक कागजात सहित उपस्थित हुन समेत उनले अनुरोध गरेका छन ।
आवश्यक कागजातहरु
१)नेपाली नागरिकताको सक्कलै प्रमाणपत्र
२) बाबुआमाको नागरिक प्रमाणपत्रको प्रतिलिपि (उपलब्ध भएमा)
३) नागरिकता प्रमाणपत्रमा जन्म मिति नखुलेको हकमा सो खुल्ने प्रमाणपत्र
४) राहदानी लिएको भए सो को सक्कल वा प्रतिलिपि
५) बसाइ सराइ गरेको भए सो को सक्कल प्रमाणपत्र