आगामी वर्षातमा पनि कपनक्षेत्र डुब्ने खतरा,बिजुलीको खम्बा देखाउदै बक्स कल्भर्ट निर्माणमा ढिलासुस्ती
कपन अनलाइन
काठमाण्डौ ,माघ १४।
ठेकेदार कम्पनीले बिजुलीको खम्बा देखाउदै बक्स कल्भर्ट निर्माणमा ढिलासुस्ती गरेपछि आगामी वर्षको वर्षातमा पनि कपन क्षेत्र डुब्ने खतरा बढेको छ। लामो समय देखि कपनवासीलाई निकै पिरोलिरहेको डुवान समस्या समाधान गर्नका लागि निर्माण भैरहेको बक्स कल्भर्टको जिम्मा पाएको ठेकेदार कम्पनीले निर्माण क्षेत्रमा रहेका बिजुलीका खम्बाहरु हट्नुपर्ने अन्यथा खतरा रहेको भन्दै काममा ढिला सुस्ती गरेपछि स्थानीयहरु आक्रोसित बनेका छन।
साततले-आनी गुम्बा सडक क्षेत्रको मिलनचोक तरकारी बजार देखि आनिगुम्बा सम्म निर्माण हुन् लागेको सो बक्स कल्भर्ट निर्माणको जिम्मा हाइ हिमालयन जेभी बालकुमारी ललितपुरले प्राप्त गरेको छ।
अहिले सो बक्स कल्भर्ट निर्माण भैरहेको आनिगुम्बा क्षेत्रमा ढल निकास नहुँदा निकै दुर्गन्ध फैलिएको छ भने टेलिकम क्षेत्रमा पनि केहि सडक खनिएको छ भने टेलिकमको पर्खाल भत्किदा निकै क्षेती समेत पुगेको छ।
यसै क्रममा नेकपा एमालेका स्थायी कमिटी सदस्य डा. राजन भट्टराई , वडा नं १२ का अध्यक्ष शम्भु भट्टराई ,वडा नं ११ का अध्यक्ष राजु अधिकारी ,वडा नं १० का अध्यक्ष नवराज भट्टराई ,नगर कार्यपालिका सदस्यहरु संगम गहतराज र शान्ता ढकाल तथा विभिन्न राजनीतिक दलका प्रतिनिधी सहितको उपस्थितिमा भएको ठेकदार र लगानीकर्ता विचको छलफलले कामलाई गति दिने वारेमा छलफल भएको छ।
सो छलफलमा पिडित स्थानीयहरुले निर्माण सुरु गर्नका लागि खाडल खनेर निकै सुस्त गतिमा काम गरिरहेको ठेकेदारलाई लक्षित गर्दै आफ्ना गुनासाहरु राखेका थिए।
पछिल्लो चरणमा कपन क्षेत्रमा देखिएको डुवान समस्याका कारण व्यापार व्यवसाय र घर जग्गा खरिद विक्रीमा निकै प्रतिकुल अवस्थाको सामना गरेका पिडित स्थानीयहरुले आगामी वर्षा सम्म पनि निर्माण सुस्त भएमा विकराल डुवान भोग्नु पर्ने भन्दै ठेकेदार कम्पनीको ध्यानकर्षण समेत गराएका थिए।
सो अवसरमा स्थानीयहरु संगको छलफल पश्चात डा. भट्टराईले सडकमा बक्स कल्भर्ट निर्माण हुँदा खानेपानी र यातायातमा परेको असर तर्फ गम्भीर बनेर ध्यान दिनका लागि ठेकेदार कम्पनीका प्रतिनिधिहरुलाई आग्रह गर्दै ढिलासुस्ती भएमा विद्युत प्राधिकरण र उपत्यका विकास प्राधिकरणमा गएर धर्ना सहितका कार्यक्रम गर्दै दवाव दिनुपर्ने धारणा राखेका थिए।
सो छलफलमा वडा नं १२ का अध्यक्ष शम्भु भट्टराईले आगामी वर्षा सम्म योजना सम्पन्न गर्ने सम्झौता गरेको ठेकेदार कम्पनीको कामको गति हेर्दा त्यस्तो नलाग्ने बताउदै समयमा नै काम सम्पन्न गर्नका लागि थप दवाव दिने धारणा राखेका थिए। अहिले बिजुलीको खम्बा देखाउदै कपनवासीलाई कस्ट दिने निर्माण कम्पनीको षडयन्त्रको गन्ध आएको भन्दै उनले त्यसो भएमा स्थानीयहरुबाट कडा प्रतिकारको सामना गर्नुपर्ने चेतावनी समेत दिएका छन।
वडा नं १२ को आनीगुम्बा देखि वडा नं १० को मिलनचोक तरकारी बजार सम्म निर्माण हुने सो ब्लक कल्भर्ट निर्माण योजनाको सम्झौता रकम २८ करोड ७४लाख ३९ हजार ९ सय ५४ रुपैया ३० पैसा रहेको छ।