नेपाल मेडिकल कलेज अत्तरखेलले बिरामीको नाम दर्ता र जनरल वेड १ महिनासम्म निःशुल्क गर्ने
कपन अनलाइन
काठमाडौं, पौष १२ । नेपाल मेडिकल कलेज अत्तरखेलले १ महिनाका लागि आकस्मिक, अन्तरंग जाँच र जनरल बेड निःशुल्क गर्ने भएको छ। कलेजले आज पत्रकार सम्मेलन मार्फत उक्त कुराको जानकारी गराएको हो । कलेजका म्यानेजिङ डाइरेक्टर बसरुद्धिन अन्सारीले गरिब, असहाय तथा कमजोर आर्थिक अवस्था भएका विरामीलाई लक्षित गर्दै सवै प्रकारका जनरल वेडहरु निःशुल्क गरिएको बताए ।
यहि पुस १५ गतेदेखि माघ १५ गते सम्म आकस्मिक, अन्तरंग जाँच र जनरल बेड निःशुल्क गर्ने जानकारी दिदै कलेजमा अब कुनैपनि उपचारका लागि आउने विरामीले एक महिनासम्म ओपिडीको टिकटमा पैसा तिर्नु पर्दैन भने जनरल वेडहरुमा बस्दा ५० प्रतिशत मात्र खर्च तिरे पुग्छ ।‘इमरजेन्सीमा आउने सम्पूर्ण विरामीहरुलाई विरामी दर्ता र भर्ना शुल्क शतप्रतिशत छुट गरेका छौं, ओपिडीमा पनि नयाँ र पुरानो दुवै विरामीको नाम दर्तामा शतप्रतिशत छुट छ भने, साधारण शैयामा भर्ना हुन आउने विरामीलाई पनि शैया शुल्कमा ५० प्रतिशत छुट गरेका छौं ।’ म्यानेजिङ डाइरेक्टर अन्सारीले जानकारी गराए ।
६ महिना अगाडी मात्रै नेपाल मेडिकल कलेजमा आएका अन्सारीले गरिब, असहाय, निमुखा, टुहुरा, विपन्न वर्ग, एकल महिला, जेष्ठ नागरिक लगायत विभिन्न कारणले स्वास्थ्योपचार पाउन नसकेकालाई यो छुट दिइएको जनाए । ‘हामीसँग तल्लो, मध्यम तथा उच्च वर्गहरु उपचारका लागि आउने गरेका छन् । आथिक रुपमा बलियो भएकाहरुले पैसा तिरेर उपचार गराउँदा कमजोर भएकाहरुलाई निःशुल्क सेवा दिने अभियान चालेका हौं ।’ अन्सारीले भने ।समय सापेक्ष अस्पतालको सेवा विस्तार गर्ने कार्य भइरहेको बताउँदै कलेजले आउँदा दिनहरुमा आइसियू सेवालाई थप व्यवस्थित र प्रभावकारी बनाउने जानकारी दिदै त्यसका का लागि थप २३ वटा आइसियू वेड थप गर्ने भएको छ ।
यस्तै, मृगौला, क्यान्सर रोग लागेका विरामीको उपचारमा समेत नेपाल मेडिकल कलेजले सेवाहरु प्रभावकारी बनाउँदै लैजाने बताएको छ । आगामी वर्षहरुमा मुटु रोगको उपचारार्थ आधुनिक क्याथ ल्यावसहितको पूर्वाधार थप्ने जानकारी गराइएको थियो ।कलेजले आकस्मिक सेवालाई थप व्यवस्थित र २४ सै घण्टा विशेषज्ञ सहितको चिकित्सक ब्यवस्थापन गरेको छ । इमरजेन्सीमा आउने कुनैपनि विरामीको उपचारमा ढिलासुस्ती हुन नदिन विशेषज्ञ चिकित्सकहरुको व्यवस्थापन गरिएको हो । लामो समय टिचिङ अस्पतालमा रहेर अनुभव हासिल गरेका बरिष्ठ चिकित्सकको नेतृत्वमा इमरजेन्सी सेवा रहेको बताइएको थियो ।
यसैगरी कलेजले ल्याव तर्फका सेवालाई पनि थप गर्ने भएको छ । निकट भविष्यमै अस्पतालको ल्याव तर्फ थप सिटी स्क्यान, थ्री टेस्लाको एमआरआई जडान गर्ने जानकारी दिदै । ‘अहिले हामीसँग एउटा सिटी र एमआरआई रहेकोमा अबको केही समयमै थप एउटा सिटी र एमआरआई जडान गर्ने छौं ’ अन्सारीले भने ।कलेजले अस्पताल सेवातर्फ सञ्चारकर्मीहरुलाई पनि छुट दिने भएको छ । सूचना विभाग तथा सञ्चार प्रेस रजिष्ट्रार कार्यालयको परिचयपत्र वाहक सञ्चारकर्मीहरुलाई ल्याव, वेड चार्ज तथा विभिन्न उपचार सेवाहरुमा छुट गरिने समेत जानकारी गराइएको थियो ।