विश्वकप फुटबलको छनौटका लागि नेपाल र भारतबीच आज प्रतिस्पर्धा हुँदै
काठमाडौ, ३ चैत । सन् २०१८ मा रुसमा हुने विश्वकप फुटबल तथा २०१९ को एसिया कपका लागि एसियाली छनोट अन्तर्गत दोस्रो लिगका लागि नेपाल र भारतबीच आज प्रतिस्पर्धा हुँदैछ ।
भारतको गुवाहटीमा भएको खेलमा भारतसँग २–० ले पराजित भएको नेपालले आजको खेल कम्तीमा ३–० को अन्तरले जिते अघिल्लो चरणमा पुग्ने सम्भावना रहनेछ । पहिलो लिगको खेल भारतको गुवाहटीमा भएको थियो भने दोस्रो लिगको खेल आज काठमाडौको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुँदैछ ।
यसअघि भारतसँग भएको १६ खेलमा नेपालले ३ खेल मात्रै जितेको छ । भारतीय फुटबल टोलीका मुख्य प्रशिक्षक स्टेफन कन्स्टान्टिनले पहिलो लिगमा २–० ले अग्रता लिए पनि आफ्नो टोली नेपाललाई सजिलै जितेर दोस्रो चरणमा जानेमा ढुक्क नभएको बताउनु भएको छ ।
भारतसँग हुन लागेको विश्वकप छनोटको महत्वपूर्ण खेल आयोजनाको तयारी सबै पूरा भएको अखिल नेपाल फुटवल संघ एन्फाले जनाएको छ ।
दिउँसो ३ बजेदेखि सुरु हुने आजको खेल दर्शकका लागि दुई प्याराफिटको छुट्टाछुट्टै टिकट ब्यवस्था गरिएको छ । भीआई प्याराफिटका लागि १५ सय रुपैयाँ र साधारण प्याराफिटको लागि ७ सय रुपैयाँको टिकट ब्यवस्था गरिएको एन्फाले जनाएको छ ।