साँखुको देबी नाच
कपन अनलाइन
काठमाडौँ, भाद्र ३०। शंखरापुर नगरपालिकाको साँखुमा देबी नाच सम्पन्न भएको छ । साँखुमा कागेअष्टमीको दिन देवी, चण्डी र भैरव गरि तीन जना देवीदेवताहरुको नाच देखाउने चलन छ । यस नाच लाई स्थानीयले “देवी प्याखं” भन्ने गर्दछन् । साँखुमा नचाईने देवीको नाच अन्य स्थानमा नचाईने देवीको नाच भन्दा केही फरक रहेको विश्वास गरिएको छ । यो नाच रातभरि साँखुका परम्परागत चारवटा डवली (चलाखुटोलको देवी दबु, इल्लाटोलको लायकू दबु, धुंल्ला टोलको द्यः दबु र साल्खा टोलको जन दबु) हरुमा र विभिन्न देवस्थानहरु र चोक चोकमा द्यःल्हायेगु र बाटोमा समेत नाच्दै जाने चलन रहेको छ ।यो नाच चलाखुटोलमा पश्चिम फर्काएर नचाइन्छ भने दुगाहिटी टोलमा उत्तर फर्काएर नचाइन्छ । त्यसैगरी सुन्टोलमा उत्तर फर्काएर नचाइन्छ भने साहाँगालमा पनि उत्तर फर्काएर नचाइने हुँदा डबलीमा नचाएको हेर्न अप्ठ्यारो छ । इपाटोल, र ईल्लाटोलमा देवी नृत्य पश्चिम फर्काएर नचाइन्छ भने धुँल्लाटोल र साल्खाटोलमा पनि उत्तर फर्काएर नै नचाइन्छ ।
यस नाचमा ख्याक, कंकाली र बेतालको अर्को समूहले पनि रमाईलो गरि नाच देखाउने चलन रहेको छ । सायद एउटै किसिमको चर्या नाच हेर्दा खल्लो नलागोस् र देवी नाच नाच्ने व्यक्तिहरुलाई केही समय आराम गर्ने वातावरण मिलोस् भनेर यसरी ख्याक नाचको व्यवस्था गरिएको हुनुपर्छ । उक्त देवी, चण्डी र भैरवलाई पूजा गरि साक्षात् भगवती स्वरुप मानि धार्मिक आस्थाका साथ पूजा प्रार्थना गर्ने गरिन्छ । देवी नाचमा ख्याक, बेताली, कवंचा हुनुलाई देवी, लक्ष्मी लगायतका देवी देवताहरुको गणकै रुपमा लिइन्छ ।
नेवारहरुको परम्परागत शास्त्रिय गीत मालश्री र खिं, नायखिं, नाशगोरा, अस्टारा, तिन्छु र माहेलींंका साथ साथै अन्य बाजाहरु बजाइ शास्त्रिय संगितको आधारमा यो नृत्य नचाईन्छ । बाजा बजाउनेले गल्ती गरेमा खड्ग लिई नाचिरहेको बेला सोही खड्गले उक्त बाजालाई छप्काउने (प्रहार गर्ने) गरेको भनाई सुनिनमा आएकोले उक्त नाचमा बाजा र राग गीतको पनि उत्तिकै महत्व रहेको मान्न सकिन्छ ।यस नाचमा देवी, चण्डी, भैरव, ख्याक, कंकाल र बेताल आदिका साथै राग गाउने र बाद्य बादकहरुको महत्वपूर्ण भूमिका रहेको देखिन्छ । देवी र चण्डीले रातो रंगको भने भैरवले कालो रंगको मुकुट र जामा लुगा लगाउन्छन् । उनीहरुले खुट्टामा घंघला, हातमा चुरा, चाँदीको कंगन, घाँटीमा ठूलो बुट्टाको सिक्री, तायो र शिरमा हृयाउँख्वा माजुको शिरमा रहने किकंपा (जुन जात्रा पछि फिर्ता बुझाइन्छ ) का साथै विशेष प्रकारले सजाईएको (चुबेकु स्वाँ अर्थात् सुगन्धराज फूल) फूलका साथै अन्य गरगहनाले सजाइने गरेको पाइन्छ । साँखुमा प्रदर्शन गरिने देवीको नाचमा अन्यत्रमा जस्तो महिशासुर दैत्यको प्रतिनिधित्व रहँदैन र खाली प्रतिकात्मक रुपमा देवी, चण्डी र भैरव तीन जनाले नाच्दै आफ्नो खड्ग ढुङ्गामा छप्काउँदै (प्रहार गर्दैं) दैत्यको बध (हत्या) गरेको मुद्राको ज्वलन्त अभिनय गरि देखाइन्छ ।
यस सम्वन्धमा प्रचलित एक किंवदन्ती अनुसार पहिले साँखुको देवी नाच हरेक वर्ष काठमाडौंको हनुमान ढोकामा लगी नचाइन्थ्यो । त्यस क्रममा एकवर्ष हनुमान ढोकामा साँखु र काठमाडौंको देवी नाच वीच जम्का भेट हुँदा साँखुको देवी नृत्यमा दैत्य पात्र नभएको भनि खिज्याइएको थियो । त्यस क्रममा साँखुका देवी गुठीका गुठियारहरुले साँखुको देवी नाचमा साँच्चिकै देवी भगवतीको प्रवेश हुने भएकोले दैत्यको रुपमा नाच्ने व्यक्तिको शारिरीकरुपमै बढ हुने जनविश्वास रहेकै कारण दैत्य पात्र नराखिएको जिकिर गरेका थिए । तर यसरी जिरह गर्दा काठमाडौँका देवी टोलीले नमानी “ल हाम्रो दैत्य पात्र राखेर नचाउन सक्छस्” भनि चुनौति दिएकाले बाध्यभई तिनीहरुको दैत्य पात्र राखी नचाउँदा दैत्यलाई छुँदै नछुवाई आफ्नो खड्ग देवीले ढुंगामा प्रहार गरी दैत्य मार्ने अभिनय गर्दा दैत्य पात्र हुने व्यक्तिको तत्कालै अचेत भई मृत्यु हुन पुगेको जस्तो अचम्मको घटना घटेपछि साँखुको देवी त साँच्चिकै दैवी शक्ति भएको मानिएको थियो । सोही बेला देखि यस देवीलाई साँखुमा मात्र नचाउनु, हनुमान ढोका ल्याउन पर्दैन भनि राजाज्ञा भएपछि साँखुमा मात्र नचाउने गरेको भनाई रहेको पाइन्छ ।
यस नाचको थालनी नेपाल सम्वत ९७६ भन्दा धेरै वर्ष अघि नै साँखुमा सुरु भएको देखिन्छ । एक दिन हृयाउख्वा माजुले तीन जना बच्चाहरुको भेष धारण गरी चलाखुटोलको सिन्धु चोकमा आई नाचिरहेको बेलामा साँखुका शक्तिशाली तान्त्रिकले देखि तिनीहरु हृयाउँख्वा माजु नै रहेको भन्ने विश्वासमा तारण राखी (तान्त्रिक बलले ) समाती अव देखि वर्ष वर्षमा आई नाच देखाउने कवुल गराई छाडेको र त्यसै बेलादेखि साँखुमा देवी नाच शुरु भएको भन्ने किंवदन्ति रही आएको छ । दैवी शक्ति सम्वन्धमा देवी नृत्यको लागि आवश्यक सरसामानहरु गुठीको नाय (मुली) को घरमा राखिने र त्यसको कोठामा हरेक दिन आरती गर्ने गरिन्छ ।
एकपटक देवी नाच चलाउन नसक्दा बज्रयोगिनीको सम्पूर्ण बाँदरहरु साँखुमा आई उत्पात मचाई दुःख दिन थालेपछि नाच देखाउन ढिलो भएको कारणले यस्तो भएको होला भनी नाच देखाउनको लागि सिकाउन शुरु गरेपछि बाँदरहरु विस्तारै साँखुबाट हट्दै गए भन्ने किंवदन्ती पनि सुनिनमा आएको छ । साँखुको देवी नाचलाई अत्यन्त शक्तिशाली र उग्ररिसमा ठूलो विध्वंस र खुशीमा कल्याण सुख र समृद्धि दिने हृयाउँख्वा माजु कै रुप मान्नु पर्ने र मानिआएको पनि पाइन्छ ।नृत्य चलाउन गृठीको व्यवस्था रहेको छ । जस्ले गुठीको जग्गाबाट प्राप्त हुने धान र गुठी भवन भाडामा दिएवापत प्राप्त हुने बहाल रकमबाट यो नाच देखाउँदै आएको छ । गुठीले यसलाई मनोरञ्जनको रुपमा नलिई साँस्कृतिक नाचको रुपमा लिइएको छ । यस नाचलाई अझै विकसित, उत्कृष्ट र आर्थिक एवं भौतिक रुपमा सम्पन्न बनाउन सकेमा विश्वसामु नेपाली कला संस्कृतिलाई परिचित गराउन र पर्यटन प्रवद्र्धन गर्न यसबाट थप टेवा पुग्ने कुरामा कसैको दुईमत रहँदैन ।
साभार :लावन्य संदेश