रूपेश जैसवाल बने बुद्धिचाल च्याम्पियन, बुढानिलकण्ठका अनिशा र आभाको अब्बल प्रदर्शन
कपन अनलाइन
काठमाण्डौ ,भाद्र २७।
फिडे मास्टर रूपेश जैसवालले शनिबार राजेशहरि जोशी स्मृति फिडे रेटिङ बुद्धिचालको उपाधि जितेका छन् । सजिलोसिभी डटकमका रूपेशले ९ खेलमा २ बराबरी र ७ जितसहित ८ अंक बटुलेका थिए ।
उनले ५० हजार रुपैयाँ पुरस्कार पाए । समान साढे ७ अंक प्राप्त गरे पनि प्रोग्रेसिभ टाइब्रेकमा थापाथली चेस क्लबका फिडे मास्टर क्षितिज घिमिरे दोस्रो र सर्लाहीका कमल श्रेष्ठ तेस्रा भए । उनीहरूले क्रमशः ३० र २० हजार प्राप्त गरेका छन ।
ललितपुर स्पोर्ट्स क्लबद्वारा नेपाल बुद्धिचाल संघका पूर्वअध्यक्ष स्व. जोशीको स्मृतिमा आयोजित प्रतियोगितामा डाइनामिक चेस एकेडेमी दमकका भूपेन्द्र निरौला, भक्तपुरका निकेन कुसाथा, सुमन लामा, गणेशमान दुवाल, रौतहटका सुशील चौधरी, दोलखाका राजीव कार्की र फिडे मास्टर मनीष हमाल चौथो देखि दसौं भएका थिए ।
महिलातर्फ सुजना लोहनी प्रथम बनेकी छन भने बुढानिलकण्ठका अनिशा न्यौपाने दितीय र आभा पुडासैनी तृतीय स्थानमा विजयी भएका छन । उनीहरूले १० हजार, ८ हजार र ६ हजार पुरस्कार पाएका छन । त्यस्तै सजिन महर्जन ललितपुर उत्कृष्ट भएर ७ हजार प्राप्त गरेका छन भने अनरेटेडतर्फ सानुभाइ महर्जन विजेता र विनय राई उपविजेता भएका छन ।