इङ्ल्याण्ड समूह चरणबाटै बाहिरियो, बंगलादेश अन्तिम आठमा
काठमाडौं, २५ फागुन : विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत इङ्ल्याण्ड समूह चरणबाटै बाहिरिएको छ । समूह ‘ए’ अन्तर्गत सोमबार भएको खेलमा बंगलादेशसँग १५ रनले पराजित भएपछि इङ्ल्याण्ड समूह चरणबाटै बाहिरिएको हो । यता इङ्ल्याण्डबिरुद्ध पाएको सनसनीपूर्ण जीतले बंगलादेश अन्तिमा आठमा पुगेको छ ।
टस हारेर पहिले ब्याटिङ गरेको बंगलादेशले ७ विकेटको क्षतिमा २७६ रन बनायो । बंगलादेशतर्फबाट विश्वकप क्रिकेट पहिलो शतक प्रहार गर्ने क्रममा महाम्दुल्लाहले १०३ रनको महत्वपूर्ण तथा ऐतिहासिक पारी खेले । उनले १३८ बल खेल्दा ७ चौका र २ छक्का प्रहार गरे । यस्तै मुसरफिर रहिमले पनि ७७ बलमा ८९ रनको योगदान गरे । बलिङतर्फ इङ्ल्याण्डका जेम्स् एन्डर्सन र क्रिस जोर्डनले २–२ विकेट लिए ।
२७७ रनको लक्ष्य पछ्याएको इङ्ल्याण्ड ४८.३ ओभरमा २६० रन जोड्दा अलआउट भयो । इङ्ल्याण्डको इनिङलाई ध्वस्त पार्ने क्रममा रुबेल हुसेनल चार विकेट लिए । उत्कृष्ट प्रदर्शन गरेका हुसेनले पछिल्लो एकै दुई विकेट तथा इयान मोर्गान र इयान बेललाई एकै ओभरमा आउट गरे । ब्याटिङतर्फ इङ्ल्याण्डका जोस ब्लटरले ६५ तथा बेलले ६३ रनको योगदान गरे ।
समूह एबाट बगलादेशसँग न्यूजिल्याण्ड, अष्ट्रेलिया र श्रीलंकाले अन्तिम आठमा स्थान पक्का गरेका छन् भने इङ्ल्याण्ड, अफगानिस्तान र स्कटल्याण्ड बाहिरिएका छन् ।