बुढानिलकण्ठका राजनीतिक दलको आश्चर्यजनक मौनता : भ्रस्टाचारलाई प्रश्रय कि निरीहता ?

बुढानिलकण्ठका राजनीतिक दलको आश्चर्यजनक मौनता : भ्रस्टाचारलाई प्रश्रय कि निरीहता ?

कपन अनलाइन

काठमाण्डौ ,साउन २९/ पुन्यराज पुडासैनी 

नगरपालिकाका सेवाग्राही र ठेकेदारहरु संग खुलेआम घूस रकम लिदै गर्दा  भटाभट कर्मचारीहरु पक्राउ परे संगै बुढानिलकण्ठ नगरपालिकाको सुशासन र सेवाप्रवाहमा देखिएका विकृति र विसंगतीका वारेमा सार्वजनिक बहस शुरु भएको छ।

नगरपालिकाका हरेक चोक र गल्लीमा रहेका चिया पसल र भट्टी पसल देखि नगर कार्यपालिका बैठकमा समेत निकै चासोका साथ चर्चामा रहेको कर्मचारी पक्राउ र भ्रस्टाचारको प्रकरणमा नगरपालिकाका राजनीतिक दल र तिनका प्रमुखहरु भने आश्चर्यजनक रुपमा मौन देखिएका छन।

बुढानिलकण्ठ नगरपालिकाको उज्यालो छवीमा हिलो पोत्ने गरी प्रमुख प्रशासकीय अधिकृत , इन्जिनियर रंगेहात पक्राउ परेको पिडा नभुल्दै सब इन्जिनियर घुस रकम सहित पक्राउ परेको तितो अनुभव गरेका नगरवासीहरु अहिले यस्तो गम्भिर विषय र प्रकरणमा राजनीतिक दलको  मौनताले  भने आश्चर्यचकित बनेका छन।

नगरवासीहरुको मत र मनको प्रतिनिधित्व गर्ने सबैभन्दा दरिला प्रतिनिधिका रुपमा रहेका राजनीतिक दलहरुले भ्रस्टाचार जस्तो गम्भीर विषयमा देखाएको मौनताले उनीहरुको निरीहता दर्शाएको चर्चा पनि अहिले नगरपालिकामा चलेको छ।

राजनीतिक दलहरुको यो मौनताले कतै उनीहरु निरिह बनेर बोल्न नसक्ने अवस्थामा पुगेका त् हैनन ? भन्ने प्रश्न उठेको एक बुद्दिजीवी बताउछन।

बेलावेलामा चर्चा र सार्वजनिक खपतका लागि ज्ञापन पत्र सहित टोलि बोकेर नगरपालिका पुग्ने विभिन्न राजनीतिक दलहरु नगरपालिका नै गन्हाउने गरी रकम सहित कर्मचारी पक्राउ पर्दा यसरि केहि नभएको जसरि चुपचाप बस्नुका पछाडिको कारण खोज्नुपर्ने समय आएको भन्दै उनले यस प्रकरणले ति दलहरुको नगरवासी प्रतिको गैर जिम्मेवारीपन देखाएको टिप्पणी गरेका छन।

२०७४ शाल बैशाख ३१ गते भएको निर्वाचन बाट निर्वाचित भएर ४ वर्ष ८८ दिन भैसक्दा केहि थान ज्ञापन पत्र बुझाउने बाहेक प्रमुख प्रतिपक्षी भएर खासै अनुभन दिलाउन नसकेको नेपाली कांग्रेस बुढानिलकण्ठका सभापति गणेश कोइरालाले यस प्रकरणलाई दर्विलो रुपमा उठाउने अनुमान गरिए पनि त्यस्तो देखिएन।

यस्ता प्रकरणको धुवादार विरोध गर्नुपर्ने प्रतिपक्षी नेपाली कांग्रेस बुढानिलकण्ठले यस्तो गम्भीर विषयमा एउटा बिज्ञप्ति समेत जारी नगर्नुलाई अहिले निकै अर्थपूर्ण रुपमा हेर्न थालिएको छ। सत्ता पक्षलाई खबरदारी गर्ने,गलत विषयको भण्डाफोर गर्ने,जनताको पिडालाई सम्बोधन गर्न आवाज उठाउने जस्ता मुख्य जिम्मेवारी रहेको नगरपालिकाको प्रतिपक्षीले पक्कै आगामी दिनमा यी प्रश्नको पलपलमा सामना  गर्नुपर्ने नै छ।

त्यस्तै केन्द्रमा प्रतिपक्षी र नगरपालिकामा सत्ता पक्षका रुपमा रहेको नेकपा एमालेले पनि यस विषयमा कुनै औपचारिक धारणा आज सम्म सार्वजनिक गर्न सकेको छैन। नेकपा एमाले बुढानिलकण्ठका अध्यक्ष प्रदिप डंगोलले केहि समाचार आफ्नो फेसबुकमा पोस्ट गर्ने बाहेक पार्टीको औपचारिक धारणा कतै ब्यक्त गर्न सकेका छैनन। सुशासनमा आफु सधै  प्रतिवद्द रहेको बताउने डंगोलले यति संवेदनशील विषयमा किन औपचारिक धारणा राख्न सकेनन यो पनि खोजीको विषय बन्ने नै छ।

त्यस्तै केन्द्रको सरकारमा सत्तापक्ष र नगरपालिकामा प्रतिपक्ष रहेको नेकपा माओवादी केन्द्रले पनि यस विषयमा कुनै प्रतिक्रिया दिएको छैन ।लामो समय नगरपालिकाको सल्लाहकार रहेर सानातिना देखि गम्भीर विषयहरुलाई समेत बहसमा ल्याउने गरेका  नेकपा माओवादी केन्द्रका अध्यक्ष रबिन अधिकारी पनि यस प्रकरणमा मौन देखिएका छन।

बुढानिलकण्ठका जनताको आम अपेक्षा विपरित मौन बनेका अधिकारीले यति संवेदनशील र नगरवासीको इज्जत र सम्मान संग जोडिएको विषयमा साधेको मौनता र देखाएको उदासिनताका वारेमा पनि आउने दिनमा पक्कै बहस हुनेनै छ।

त्यति मात्र हैन खनिसकेको खेतमा आलुको शिला खोजे झैँ नगरपालिका र नगर प्रमुखका गल्ति खोज्न मरिमेटेर लागेका अन्य  दलका प्रतिनिधिहरु पनि यस प्रकरणमा भूमिगत झैँ देखिएका छन। झन्  अवधारणामा मात्र रहेको नगर गेटलाई कोरोना संग जोडेर नगरपालिकालाई चर्चित (!) बनाउन राम्रै मेहेनत गरेका केहि दल र तिनका प्रतिनिधिहरु वर्षे छुट्टीमा बसेको हो कि के हो ? भन्दै अहिले नगरवासीहरु ब्यंग्य पनि गर्न थालेका छन।

बुढानिलकण्ठ नगरपालिकाले पनि कुनै औपचारिक क्षेमायाचना वा छानविनका लागि खासै प्रतिक्रिया जनाउन उचित नठानिएको पछिल्लो  प्रकरण र नगरपालिकामा ब्याप्त रहेको भ्रस्टचारी प्रवृतिका वारेमा खुलेर विचार र बहसमा उत्रिने कतिपय नागरिक समाज र ब्यक्तिहरुको  उदासिनता मिसिएको मौनता हेर्दा सुशासनको अभियानमा निकै शिथिलता आएको अनुमान सजिलै गर्न सकिन्छ।

राजनीति ,दल, द्रव्य ,सम्बन्ध र सहकार्य,प्रतिसोध  जस्ता कुराको  माकुरी जालमा परेर नगरपालिका कै इज्जतमा आक्रमण हुँदा पनि मौन बस्ने राजनीतिक दल र तिनका नेतृत्वलाई अहिले हरेक नगरवासीले प्रश्न गरिरहेको देखिन्छ ।

बुढानिलकण्ठका राजनीतिक दलको आश्चर्यजनक मौनता : भ्रस्टाचारलाई प्रश्रय कि निरीहता ?

 

 

 

 

तपाइँको प्रतिक्रिया ।