गँलैचामा कार्यरत बालबालिकाहरुलाई शैक्षिक सामग्री वितरण

कपन अनलाइन

काठमाण्डौ ,चैत्र १६।

बाल विकास समाज र विश्व शिक्षाको संयुक्त साझेदारीमा सञ्चालित परियोजना अन्तर्गत भक्तपुर जिल्ला सुर्यविनायक नगरपालिका वडा नम्बर ५ मा रहेका गँलैचा कारखानामा काम गर्ने बालबालिकाहरुलाई शैक्षिक सामग्री वितरण गरिएको छ ।

शैक्षिक सामग्री प्राप्त गर्ने मध्येका निम्न अवस्था भएका बालबालिकाहरुलाई खाद्यान्नसमेत उपलब्ध गराइएको हो । बाल विकास समाजका अध्यक्ष सुवास गौतमको अध्यक्षता तथा भक्तपुर सुर्यविनायक नगरपालिका उप प्रमुख जुना बस्नेतको प्रमुख अतिथ्यतामा सामग्री वितरण कार्यक्रम सम्पन्न भएको हो । बाल विकास समाजले नगरपालिकाको समन्वयमा वडा नम्बर ५ मा रहेका गँलैचामा काम गर्ने बालबालिकाहरुको तथ्याङक संकलन गरेको थियो ।

सोही तथ्याङकका आधारमा घटना व्यवस्थापन प्रक्रिया अन्तर्गत उनीहरुको आवश्यकता परिहचान भएको हो । यसरी बालबालिकाहरुको आवश्यकता पहिचान बाल विकास समाजको टेक्नीकल पार्टनर टि डि एच सँग समन्वय गरी संस्थाले गरेको थियो ।

घटना व्यवस्थापनको सम्पूर्ण प्रक्रिया संस्थाले पूरा गरेपछी आवश्यक सहयोग गरिदिनका लागि टि डि एच लाई सिफारिस भए अनुसार बालबालिकाहरुलाई टि डि एच संस्थाले सामग्री उपलब्ध गराएको हो । विशेषगरी सक्रिय परियोजना बालश्रम अन्त्यका लागि संस्थाले सुर्यविनायक, चाँगुनारायण नगरपालिका भक्तपुर र गोकर्णेश्वर नगरपालिका काठमाडौमा सञ्चालन गरिरहेको छ ।

यो परियोजना अन्तर्गत बालश्रम अन्त्य गर्नका लागि सरोकारवाला निकायहरुलाई घचघच्याउने काम भइरहेको कुरा बाल विकास समाजका अध्यक्ष सुवास गौतमले बताए ।

कार्यक्रममा सामग्री पाएपछी बालबालिकाहरु निकै खुशी देखिएका थिए । यस सुर्यविनायक नगरभित्र कुनैपनि क्षेत्रमा बालश्रम प्रयोग रोक्नका लागि आफू लागि परेको र गँलैचामा काम गर्ने बालबालिकाहरुलाई काम गराउने भन्दा पनि विद्यालय पठाउनका लागि अभिभावकहरुलाई उप प्रमुख बस्नेतले आग्रह गरेका थिए  ।

उप प्रमुख बस्नेतले अभिभावकले चाहेमा कुनैपनि बालबालिकाहरुले बालश्रमिक बन्ने अवस्था नहुने भन्दै बालबालिकाहरुको शिक्षाको लागि नगरपालिकाले रकम विनियोजन गरेर विभिन्न कार्यहरु गरिरहेको बताउनु भयो । बालश्रम मुक्त नगर बनाउने अभियानमा हामी सबैजना लागेका हुनाले बाल विकास समाजजस्ता संस्थाको निरन्तर सहयोगको अपेक्षा भएको समेत उप प्रमुख बस्नेतले बताएकी थिइन्यो । कार्यक्रममा कार्यपालिका सदस्य तथा बाल अधिकार समिति संयोजक दिपक विसुंकेले यस नगरभित्र बालबालिकाहरुको कुनैपनि समस्या भएमा तत्काल समन्वय गर्नका लागि अभिभावक बालबालिका तथा सहयोगी संस्थालाई आग्रह गरेका थिए।

बालबालिकाहरुको लागि पहिलो काम भनेको शिक्षा अर्थात सबै बालबालिकाहरु विद्यालयभन्दा बाहिर हुनुहुदैन भन्ने मान्यता छ । सरकारले पनि कुनैपनि बालबालिकाहरु विद्यालयभन्दा बाहिर हुनुहुदैन भन्दै आइरहेको छ तर अझै धेरै बालबालिकाहरु विभिन्न श्रम श्रेत्रमा काम गरिरहेको तितो दृष्यहरु छदैछन । किताब कापी बोकेर विद्यालय जाने उमेरका बालबालिकाहरु गँलैचा तथा अन्य क्षेत्रमा दश घन्टा भन्दा बढी काम गरिरहेका छन ।

 

तपाइँको प्रतिक्रिया ।